गृह मन्त्रालयमा सहसचिव कटौती, उपसचिव र शाखा अधिकृतको दरबन्दी बढाइँदै

 संवाददाता    २०८३, २७ श्रावण बुधबार १३:२३     16 जनाले पढ़िसके



Spread the love

सहसचिव प्रमुख जिल्ला अधिकारी रहेका पहाडका ९ जिल्लामा फेरि उपसचिवलाई नै पठाइने भएको छ।

गृह मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) मा यसअघि सहसचिव भएका १० वटा कार्यालयमा उपसचिव खटाउने र सहसचिवको नेतृत्व रहने गरी लागु औषध नियन्त्रण विभाग गठन गर्ने गरी नयाँ दरबन्दी कायम भएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए।

सहसचिव काफ्लेका अनुसार अब भोजपुर, खोटाङ, सल्यान, जाजरकोट, जुम्ला, रोल्पा, बैतडी, डडेल्धुरा र अछाममा उपसचिव खटाइने भएको हो। यस्तै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा पनि उपसचिव खटाइने छ। पहिले पनि यी जिल्लामा उपसचिव नै खटाइएको थियो। तर बिचमा सहसचिव खटाउने निर्णय भएको थियो।

अब ७७ मध्ये ५२ जिल्लामा मात्रै सहसचिव प्रमुख जिल्ला अधिकारी रहनेछन्। यो बिचमा हिमाली र केही पहाडी जिल्लामा पनि उपसचिव नै प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिए। उनीहरुको दरबन्दी यथावत राखिएको छ।

यस्तै गृह मन्त्रालय अन्तर्गत लागु औषध नियन्त्रण विभाग स्थापना हुने भएको छ। यो नयाँ विभागको नेतृत्व भने सहसचिवले गर्नेछन्। यसअघि मन्त्रालयमा शाखाका रुपमा मात्रै थियो। यो शाखासहित विभूषण र शान्ति प्रवर्द्धन शाखा भने हटाइएको छ।

मन्त्रालय अन्तर्गत ६ जना उपसचिवको दरबन्दी थप गरिएको छ। यसअघि शाखा अधिकृतले हेर्दै आएका कतिपय कार्यालयमा अब उपसचिवको दरबन्दी कायम गरिएको छ।

स्याङजाको वालिङ र महोत्तरीको बर्दिबास ईलाका प्रशासन कार्यालयमा अब उपसचिव रहनेछन्।

चार वटा कारागारमा पनि उपसचिवको दरबन्दी कायम गरिएको छ। अब झापा, मोरङ, कास्की र बाँकेको कारागार प्रमुखमा उपसचिव रहनेछन्। ४६ शाखा अधिकृत पनि नयाँ ओएन्डएममा थप गरिएको प्रवक्ता काफ्लेले बताए।