पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले अब १ महिना रुपन्देहीको रोहिणीमा बसेर आफ्नो मन्त्रालय चलाउने घोषणा गरेका छन् ।
आफ्नो निर्वाचन क्षेत्र अन्र्तगत पर्ने रुपन्देहीको रोहिणी गाउँपालिकामा आज गाउँब्लक जग्गामा पर्ने २७३ जना स्थानीयलाई लालपूर्जा वितरण गर्दै उनले स्थानीयको काम गरेर १ महिना रोहिणीमै बसेर मन्त्रालयको काम गर्ने र त्यसको लागि कार्यालयको खोजी भइरहेको बताएका छन् ।
उनले स्थानीय जनताको गुनासो सुन्ने, पूर्वाधार विकासका काम अघि बढाउनेगरी असोज महिनाभर रोहिणीमै बसेर मन्त्रालयको काम गर्ने प्रतिवद्धता जनाएका हुन् ।
‘मन्त्रालय नै यही ठाउँमा बसेर चलाउने तयारी छ, असोज महिनाभर १ महिना यही रोहिणीमा बसेर काम गर्ने वाचा गर्छु । त्यसको लागि कार्यालयको खोजी भइरहेको छ’ उनले भने–‘अब रोहिणीको दीर्घकालीन रुपमा धेरै समस्या समाधान हुँदैछन्, यहाँको डुबान पनि यही वर्ष मात्रै हो, अर्कोवर्ष डुबान नै हुँदैन, ढुक्क भएर बसे हुन्छ, म आश्वस्त पार्छु, यहाँको एक एक समस्याबारे बुझेको छु ।’
मन्त्री लम्सालले अव्यवस्थित, भूमिहीनहरुको समस्या समाधान गर्नका लागि सरकारले अलग्यै विद्येयक ल्याएर दीर्घकालीन समाधानको खाका तयार बनाइरहेको बताए । मन्त्री लम्सालले स्थानीयको समस्या बुझेर नै सरकारले यसको दीर्घकालीन समाधानको रणनीति बनाएको बताए । उनले रोहिणी गाउँपालिकाको मुहार फेर्न आधार तयार गरेको र यहाँको पूर्वाधारका सबै क्षेत्रको अध्ययन गरेको जनाए ।
‘अब यहाँको डुबानको समस्या यही वर्ष मात्रै हो । अर्को वर्ष यो डुबानको दीर्घकालीन योजना अघि सार्नेछौं’ उनले भने । मन्त्री लम्सालले वडादेखि जिल्ला नेतृत्वलाई नागरिकको सेवामा समर्पित हुन आग्रह गर्दै जनप्रतिनिधि तथा कर्मचारीलाई सिडियोसँग समन्यव गर्न निर्देशन दिए।
मन्त्री लम्सालले स्थानीय तहका जनप्रतिनिधि, कर्मचारीले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर बाँकी भूमिहीनका समस्या समाधान गर्नका लागि छिटोभन्दा छिटो काम गर्न निर्देशन दिए ।
‘स्थानीयका सबै समस्या पूरा गर्न सरकार दिनरात काम गरिरहेको छ, स्थानीय तहका जनप्रतिनिधि, सरकारी कर्मचारीलाई के समस्या पर्छ समाधान गर्न हामी तयार छौं तर अब यस्ता समस्या दीर्घकालीन समाधान गर्ने हो सबै मिलेर’ मन्त्री लम्सालले भने । उनले वर्षौंदेखि आफैले जोतभोग गरेकालाई त्यसको पूर्जा नभएको समस्याबारे बुझेर नै सरकारले नीतिगत समाधानको पहल थालेको बताए ।