‘जेलबाट छुटाइदिन्छु’ भन्दै साढे ५ लाख ठगी गर्ने जग्गु पक्राउ

 संवाददाता    २०८३, २० श्रावण बुधबार ११:५०     91 जनाले पढ़िसके



Spread the love

अदालत र प्रहरीसम्म आफ्नो पहुँच रहेको भन्दै जेलमा रहेका व्यक्तिलाई छुटाइदिने लोभ देखाएर रकम ठगी गरेको आरोपमा कपिलवस्तु प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवराज नगरपालिका-५ बालानगरका ३६ वर्षीय जग्गु तेली छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार तेलीले बाणगंगा नगरपालिका- ४ गजेहडाका ६५ वर्षीय अब्दुल मोविन मुसलमानसँग उनका छोरा अकबर अलीको मुद्दा मिलाइदिने आश्वासन दिँदै पटक-पटक गरी ५ लाख ६२ हजार रूपैयाँ लिएका थिए।

अकबर अली सवारी ज्यानसम्बन्धी कसुर मुद्दामा पुर्पक्षका लागि तौलिहवा कारागारमा छन् । सोही मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका जग्गु भने २०८२ जेठ १ मा रिहा भएका थिए ।

प्रहरीका अनुसार कारागारबाट छुटिएपछि तेलीले अकबर अलीका बुवासँग भेट गरी आफ्नो पहुँच प्रयोग गरेर छोरालाई जेलबाट छुटाइदिने भन्दै रकम असुलेका थिए। उनले विभिन्न सरकारी निकायमा चिनजान र प्रभाव रहेको दाबी गर्दै पीडितलाई कारागारमै रहेका बेला विश्वासमा पारेको अनुसन्धानबाट खुलेको छ।

प्रहरीले तेलीविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा ५ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाएको छ ।