भुसा खरिद गरेर बक्यौता रकम नतिरेको आरोप खेपिरहेको जनकपुर रिफाइनरिज प्रालिले उल्टै आपूर्तिकर्ताविरुद्ध मुद्दा दायर गरेको छ ।
जनकपुर रिफाइनरिजले काठमाडौं जिल्ला अदालतमा रोशन भुसा खरिद-बिक्री केन्द्र तथा त्यसका सञ्चालक रामजीवन प्रसाद गुप्ताविरुद्ध क्षतिपूर्तिको मागसहित मुद्दा हालेको हो ।
बक्यौता तिर्नुको साटो जनकपुर रिफाइनरिजका सञ्चालक रइसा अग्रवालले अदालत गुहारेकी छन् ।
आपूर्तिकर्ताबाट कम्पनीलाई करिब डेढ करोड रुपैयाँ बराबरको क्षति पुगेको दाबी फिरादपत्रमा गरिएको छ ।
जनकपुर रिफाइनरिज प्रालिका तर्फबाट वारिस कविता भण्डारीले रोशन भुसा खरिद-बिक्री केन्द्र र त्यसका सञ्चालक रामजीवन प्रसाद गुप्ताविरुद्ध मुद्दा दर्ता गराएकी हुन् ।
फिरादपत्रअनुसार जनकपुर रिफाइनरिज र रोशन भुसा खरिद-बिक्री केन्द्रबीच तेल प्रशोधन उद्योगका लागि नियमित रूपमा भुसा आपूर्ति गर्ने मौखिक सहमति भएको थियो । तर पछिल्लो समय प्रतिवादी पक्षले मागअनुसार भुसा उपलब्ध नगराएको, गुणस्तरहीन सामग्री पठाएको तथा बिलमा बढी परिमाण देखाएर ठगी गरेको आरोप कम्पनीले लगाएको छ ।
त्यसैगरी, उद्योगले अन्यत्रबाट कच्चा पदार्थ खरिद गर्न खोज्दा सञ्चालक रामजीवन प्रसाद गुप्ताले धम्की दिँदै भारतबाट कच्चा पदार्थ बोकेर आएका दुईवटा ट्रक छ दिनसम्म अवैध रूपमा नियन्त्रणमा लिएको दाबी पनि फिरादपत्रमा गरिएको छ।
उक्त घटनाका कारण उद्योगको उत्पादन ठप्प भएको, स्वदेश तथा विदेशबाट प्राप्त करोडौं रुपैयाँका अर्डर रद्द गर्नुपरेको तथा त्यसबाट ठूलो आर्थिक क्षति भएको कम्पनीले अदालतसमक्ष दाबी गरेको छ।
यता, रोशन भुसा खरिद–बिक्री केन्द्रका सञ्चालक रामजीवन प्रसाद गुप्ताले भने बक्यौता रकम तिर्नुको सट्टा आफूविरुद्ध उल्टै मुद्दा दायर गरेर तर्साउन खोजेको बताएका छन् ।
स्थानीय व्यापारी रामजीवन प्रसाद गुप्ताले कम्पनीका सञ्चालक विनित अग्रवाल र उनकी पत्नी रइसा अग्रवालले रकम माग्न जाँदा आफूलाई धम्क्याएको आरोप पनि लगाएका थिए ।
मुद्दाको विवरण र तारिख पर्चा प्राप्त गरेपछि गुप्ताले पिडितमाथि नै मुद्दा दायर हुनु हास्यास्पद रहेको बताए ।
‘मेरो कुरा कसैले नसुनेपछि मैले सहयोग लिएको हुँ । त्यसकै प्रतिशोधस्वरूप ममाथि मुद्दा दायर गरिएको छ । यो कानुनी राज्यको उपहास हो,’ उनले भने ।
मुद्दामा आफूमाथि लगाइएका सबै आराेप मनगढन्ते रहेकाे कानुनी रूपमा प्रतिवाद गर्ने उनको भनाइ छ ।
‘मेरो आर्थिक क्षति, ब्याज र मानसिक पीडाको जिम्मेवारी कसले लिने ?’ उनले प्रश्न गरे ।
यसैबीच जनकपुर रिफाइनरिजले ईलाका प्रहरी कार्यालय ढल्केवरमा बेग्लै निवेदन पनि दिएको छ । अदालतमा मुद्दा दिइसकेकाले यो विषयसँग सम्बन्धित कुनै पनि प्रक्रिया अघि नबढाउन निवेदनमा माग गरिएको छ।