मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग परिसंघ कोशीका उपाध्यक्ष प्रकाश मुन्दडाको निवास र कार्यालयमा प्रहरीले खानतलासी गरेको छ ।
बिहान ४ बजेदेखि मुन्दडाको विराटनगर-७ स्थित निवास र कार्यालयमा साढे ५ घण्टा खानतलासी गर्दा पनि केही नभेटेपछि प्रहरी रित्तो हात फर्किएको छ । निवास र कार्यालयमा घेरा हालेर प्रहरीले खानतलासी गरेको थियो ।
प्रहरीले अपरेसनका क्रममा घर वरपर सर्वसाधारणको आवतजावत र सवारीसाधन सञ्चालन समेत रोकेको थियो । जिल्ला प्रशासन कार्यालय मोरङ र गोल्छा मोडतर्फ जाने सडक अवरुद्ध पारिएको थियो ।
अपरेसनमा जिल्ला प्रहरी कार्यालय मोरङ, वडा प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । एक दर्जनभन्दा बढी प्रहरीका गाडी प्रयोग गरिएको उक्त अपरेसनको नेतृत्व मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले गरेका थिए । प्रतिष्ठित उद्योगी मुन्दडाले अवैध रूपमा नगद राखेको आशंकामा खानतलासी गरिएको प्रहरी स्रोतको भनाइ छ ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले घरबाट कुनै नगद, कागजात वा अन्य सामग्री बरामद नभएको बताए ।
उनले भने ‘विशेष सूचनाका आधारमा छापा हानेका थियौँ । लामो समय लगाएर घरदेखि कार्यालयसम्म लगातार खानतलासी गरियो । तर, केही पनि फेला परेन ।’