संखुवासभा र मोरङमा अवैध भरुवा बन्दुक बरामद

 संवाददाता    २०८३, १७ श्रावण आईतवार १३:३३     49 जनाले पढ़िसके



Spread the love

पूर्वी नेपालका दुई फरक जिल्लाबाट प्रहरीले चार थान बेवारिसे भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद गरेको छ। संखुवासभाको चैनपुर र मोरङको उर्लाबारी क्षेत्रका सामुदायिक वनबाट प्रहरीले ती अवैध हतियार फेला पारेको हो।

​गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी पोस्ट सभाखोला संखुवासभाबाट खटिएको प्रहरी टोलीले साउन १६ गते चैनपुर नगरपालिका–११ स्थित मलाटे सामुदायिक वनको भिरमा रहेको ओडारबाट तीन थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ।

ओडारभित्र प्लास्टिकले बेरेर लुकाईछिपाई राखिएको अवस्थामा ती बन्दुकहरूसँगै एक थान सलाईको बट्टा र ५० ग्राम सलाईको बारुदसमेत फेला परेको प्रहरीले जनाएको छ।

​यसैगरी, मोरङको उर्लाबारी नगरपालिका–१ कत्लेस्थित श्री जनज्योति सामुदायिक वनबाट पनि प्रहरीले थप एक थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीबाट विशेष सूचनाका आधारमा गस्तीमा खटिएको टोलीले बोरामा लुकाईछिपाई राखिएको अवस्थामा सो बन्दुक फेला पारेको हो।

बन्दुकसँगै त्यसमा प्रयोग हुने १३ थान धातुको किट र ४५ ग्राम ८८० मिलिग्राम बारुदसमेत बरामद गरिएको छ।

​दुवै स्थानबाट बरामद गरिएका हतियार कसले र कुन प्रयोजनका लागि लुकाएर राखेको हो भन्नेबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।