गोठाटारमा गएराति आगलागी हुँदा एउटा काष्ठ उद्योगसँगै १४ वटा पसलमा क्षति पुगेको छ।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर- ५ गोठाटारस्थित पहेलोपुल नजिक रबिन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदाम र सटरमा गएराति सवा नौ बजेतिर आगलागी भएको हो। करेन्ट सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ।
नौवटा दमकल, ३ वटा पानी ट्याङ्कर र स्थानीय बासीकोसमेत सहयोगमा राति ११ बजे आगलागी पूर्णरूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
आगो निभाउने क्रममा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका- ९ गोठाटार घर भएका ३७ वर्षीय नरेश थापा घाइते भएका छन्।
उनी टहराको जस्ताबाट खसेर घाइते भएका र उपचारको लागि उनलाई सुरुमा नगर अस्पताल मुलपानी लगिएको थियो।
त्यहाँ सामान्य उपचार पश्चात थप उपचारको लागि उनलाई राति नै राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ।
उक्त आगलागीबाट भएको क्षतिको विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन।
आगलागीबाट ओम काष्ठ उद्योग, रिकन्डिसन एण्ड हेल्मेट पसल, बासु फर्निचर पसल, घिसिङ अटो रिकन्डिसन, रङ पसल, प्रेम गौतम रिकन्डिसन, मोबाईल पसल, हार्डवयर पसल, मिठाई पसल, चिया पसल, हिमेस गौतमको फर्निचर पसर, चटपटे एण्ड किराना पसल, कस्मेटिक पसल र स्टेशनरी पसलसमेत १४ वटा पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ।
आगलागीको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौँबाट प्रहरी उपरीक्षक दानबहादुर थापाको कमाण्डमा एकसय जना प्रहरी टोली, बिपद् ब्यवस्थापन सामाखुसीबाट प्रहरी निरीक्षक हिरा थापा मगरको कमाण्डमा २५ जना प्रहरी टोली, सिनामंगलबाट शसस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक हेराम कुँवरको कमाण्डमा ५० जनाको प्रहरीसमेत १७५ जना सुरक्षाकर्मी घटनास्थलमा पुगेका थिए।