देवानगञ्ज घटनाको छानबिन तीव्र, समिति स्थलगत निरीक्षणमा

 संवाददाता    २०८३, १२ श्रावण मंगलवार १३:५७     16 जनाले पढ़िसके



Spread the love

सुनसरीको देवानगञ्ज घटनाका विषयमा छानबिन गर्न गठित टोली घटनास्थल आइपुगेको छ । आइतबार राति दुई समुदायका बीचको झडपका क्रममा सशस्त्र प्रहरीले गोलीबाट एकजनाको मृत्यु र प्रहरीसहित २४ जना घाइते भएपछि गृहमन्त्रालयले ५ सदस्यीय छानबिन समिति बनाएको थियो ।

छानबिन समितिले आजबाट काम थालेको हो । सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा सदस्यीय छानबिन समिति गठन भएको थियो ।

समितिले घाइतेहरूलाई भेटेका छन् । सदस्य प्रहरी उपरीक्षक विपीन रेग्मीले विराटनगरका विभिन्न अस्पताल पुगेर घाइतेहरूलाई भेटेको बताए । अहिले जिल्ला प्रशासन कार्यालय सुनसरीमा घटनाका सरोकारवालासँग छलफल भइरहेको छ । टोलीले एक साताभित्र प्रतिवेदन दिनेछ ।

घटनापछि सुनसरीका सीडीओ वासुदेव घिमिरे, प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे, सुनसरीका प्रहरी प्रमुख केशवकुमार थेबेलगायतको सरुवा भएको छ । प्रदर्शनकारीले हिजोसम्म सीडीओ र प्रहरी प्रमुखको कारबाहीको माग राखेका थिए ।

प्रदर्शनकारीको मागबमोजिम सरकारले प्रहरी अधिकारीको सरुवा गरे पनि स्थिति सामान्य भइसकेको छैन । अहिले सुनसरीको भोक्राह, कोशी गाउँपालिका, इनरुवा नगरपालिकागायत देशका विभिन्न ठाउँमा घटनाको विरोधमा प्रदर्शन भइरहेको छ ।

सुनसरीका सीडीओ ईश्वरीप्रसाद अर्यालले शान्ति सुरक्षा बिग्रिन नदिन छलफल र संवाद जारी राखेको बताएका छन् । उनले अवस्था सामान्य बनाउने विषयमा पहल भइरहेको बताए ।