कप्तानगञ्ज घटनापछि छिमेकी गाउँपालिकाले दियो शोक बिदा

 संवाददाता    २०८३, १२ श्रावण मंगलवार १२:४६     59 जनाले पढ़िसके



Spread the love

सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज बजारमा युवकको मृत्यु घटनालाई लिएर छिमेकी दुई गाउँपालिकामा पनि शोक बिदा घोषणा गरिएको छ।

सुनसरीको भोक्राहा नरसिंह र बर्जू गाउँपालिकाले शोक बिदा घोषणा गरेका हुन्। भोक्राहा नरसिंहका अध्यक्ष अजमल अख्तर आजादले देवानगञ्ज घटनाप्रति शोक व्यक्त गर्दै साउन १२ गते गाउँ कार्यपालिकाको कार्यालय, सम्पूर्ण वडा कार्यालयहरू, सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालय, स्वास्थ्य संस्था (अत्यावश्यकबाहेक) र पालिका मातहतका अन्य कार्यालयमा शोक बिदा दिइएको जनाएका छन्।

गाउँपालिकाले जारी गरेको सूचनामा भोक्राहा नरसिंह गाउँपालिकाले सामाजिक सद्भाव, भाइचारा र साम्प्रदायिक एकतामा खलल पुग्ने कुनै पनि प्रकारका अफवाह, भ्रामक सूचना, उत्तेजना अभिव्यक्ति वा सामाजिक सञ्जालको गलत प्रयोग नगर्न आम नागरिक तथा सरोकारवालामा हार्दिक अपिल गरेको छ। घटनाको निष्पक्ष र तथ्यपरक छानबिन गरी दोषीमाथि कारबाही गर्न माग पनि गरिएको छ।

यस्तै, बर्जू गाउँपालिकाले पनि सोही घटनालाई साउन १२ गतेका लागि गाउँ कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालयहरू, शैक्षिक संस्थाहरू र स्वास्थ्य संस्थाहरूमा एक दिन शोक बिदा दिने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष जिवछकुमार रायद्वारा हस्ताक्षरित विज्ञप्तिमा दिवंगत आत्माप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गरिएको छ।

दोषीमाथि कडा कानुनी कारबाही अगाडि बढाउन र समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

त्यस्तै, कोशी गाउँपालिकाले पनि यस घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दै शोक वक्तव्य जारी गरेको छ। गाउँपालिका अध्यक्ष ऐयुब अंसारीद्वारा जारी शोक वक्तव्यमा घटनामा परी ज्यान गुमाउने देवानगञ्ज–३ का युवा ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

कोशी गाउँपालिकाले मानवीय क्षति निम्त्याएको उक्त गम्भीर घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न तथा जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सम्बन्धित प्रशासनसँग आग्रह गरेको छ।