गत शुक्रबार बिहान ७ बजेदेखि हराएकी सानीमा क्यापिटल्सकी कर्मचारी शनिबार गाडीभित्रै मृत फेला परिन्। उक्त कम्पनीको नक्सालस्थित कार्यालयकी मर्चेन्ट हेड रश्मी रिजाल काठमाडौँको तारकेश्वरर नगरपालिका-१ बालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्रमा आफ्नै गाडीको पछाडि मृत भेटिएकी हुन्।
बीएई ०४१० नम्बरको विद्युतीय कारको पछाडिको सिटमा उनी जलेको अवस्थामा मृत फेला परे पनि सिट भने केही भएको थिएन। रश्मीको शरीर पनि धेरै जलेको अवस्थामा थिएन।
कार नजल्नु र मृतकको शरीर पनि धेरै नजलेको अवस्थामा फेला परेपछि घटना रहस्यमय रहेको आफन्तले दाबी गरेका छन्।
तर घटना अनुसन्धानका क्रममा सीसीटीभी फुटेजबाट धेरै कुरा पत्ता लागेको प्रहरीले जनाएको छ।
जुन प्रमाणले रश्मी आफैँले आगो लगाएको निष्कर्षमा प्रहरी पुगेको छ।
रश्मीको मृत्यु रहस्यमय ठानेको परिवारलाई पनि प्रहरीले उक्त फुटेज देखाएर घटनाको वास्तविकताबारे जानकारी गराएको छ।
४५ वर्षकी रिजाल अघिल्लो दिन नै घरबाट निस्किएकी थिइन्। तर त्यस दिन घर नफर्किएको र सम्पर्क पनि नभएपछि परिवारले प्रहरी कार्यालयमा निवेदन दिएका थिए।
नुवाकोटको बेलकोटगढी नगरपालिकाको तादी घर भएको रिजाल परिवार काठमाडौँको मनमैजुमा बस्छ।
निवेदन परेपछि प्रहरी वृत्त बालाजुले खोजतलास गरिरहेको थियो।
तारेकेश्वरको बालुवा प्रशोधन केन्द्रनजिकै एउटा गाडी शंकास्पद रुपमा रोकेर राखेको खबर प्रहरीलाई आयो।
परिवारले भनेको गाडी र त्यहाँ भेटेको गाडी एउटै भएको खुल्यो। तर गाडीमा कालो सिसा भएकाले भित्र केही पनि देखिएन। पछि प्रहरीले खोल्दा रश्मी पछाडिको सिटमा भेटिएकी थिइन्। तर गाडीको चाबी भने अगाडि नै थियो।
आफन्त समेतको उपस्थितिमा घटनास्थल पुगेर मुचुल्कालगायत कार्य गरेको प्रहरीले शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठायो।
त्यसपछि प्रहरीले घटनास्थल आसपासको सीसीटीभी फुटेज पनि खोजि गर्यो।
प्राप्त फुटेजबाट रश्मी एक्लै घटनास्थलमा पुगेको, आफैँले आगो लगाएकोलगायत कुरा खुलेको दाबी प्रहरीले गरेको छ।
काठमाडौँ प्रहरी प्रमुख एसएसपी दिलिप घिमिरेका अनुसार फुटेजमा रश्मी आफै कार चलाउँदै उक्त स्थानमा पुगेको देखिएको छ।
त्यहाँ पुगेपछि उनी गाडी रोकेको देख्निछ। त्यसपछि चालक सिटबाट उनी पछाडीको सिटमा आउँछिन्। पछाडीको सिट पनि बन्द गर्छिन्। गाडीका सबै सिसा बन्द हुन्छन्। त्यसपछि भित्रै उनले आफैलाई पेट्रोल छर्किएर आगो लगाएको प्रहरीको दाबी छ।
सबै सिसा बन्द भएका कारण गाडी जल्न नसकेको र उनको शरीरमा पनि जलन धेरै नभएको प्रहरीको दाबी छ। उनको मृत्यु जलन र अक्सिजन अभावमा भएको अनुमान प्रहरीले गरेको छ।
पोष्टमार्टमपछि आइतबार नै आफन्तले शव बुझेर दाहसंस्कार गरेका छन्।
यस्तै घटनाको अनुसन्धानका लागि परिवारले जाहेरी समेत दिएका छन्।
परिवारले घटनाको सत्यतथ्य पत्ता लगाइ कसैको संलग्नता देखिए कानुनी कारबाही गर्न माग गरेका छन्। ज्यान सम्बन्धी कसुरमा जाहेरी परेको काठमाडौँ परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए। थप अनुसन्धान गरिरहेको पनि भट्टराईले बताए।