बाजुरामा घरमाथिबाट पहिरो खसेपछि १३ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
बाजुराको बडिमालिका नगरपालिका-९, सेलागाडमा अविरल वर्षासँगै आएको पहिरोका कारण १३ घर जोखिममा परेका हुन्। तीमध्ये तीन घर बस्नै नमिल्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
आज शुक्रबार बिहान ४:३५ बजेतिर घरमाथिबाट पहिरो खसेर बस्ती जोखिममा परेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले पहिरोको जोखिममा रहेका १३ घरका परिवारलाई अन्नपात, लत्ताकपडा, भाँडावर्तन तथा अन्य सरसामानसहित उद्धार गरेको हो।
१३ घरधुरीमा ८३ जना परिवारका सदस्य छन्।
जोखिममा रहेका बस्तीका स्थानीय प्रेम थापाकी ३० वर्षीया श्रीमती पार्वती थापा बेहोस भएकामा उपचारपछि अवस्था सुधार भएकाले डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।
पहिरोका कारण बडिमालिका नगरपालिका-८ राप्कास्थित टोट्के सिँचाइ नहरमा पनि क्षति भएको छ।
पहिरोले २०० एमएमको करिब २३० मिटर प्लास्टिक पाइप तथा २५ मिटर पक्की नहर बगाएको छ। प्रभावित क्षेत्रमा थप निगरानी तथा आवश्यक सतर्कता अपनाइएको बाजुरा जिल्ला प्रहरी कार्यालयले जनाएको छ।