मोरङको विराटनगरबाट मध्यराति हतियार र लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
विराटनगर महानगरपालिका-१८, झटियाही बुधनगरका ५९ वर्षीय लालकिशोर यादवलाई कटुवा पेस्तोल र विभिन्न किसिमका लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले गएराति १२:१० बजेतिर यादवको घरमा छापा मारेको थियो।
यादवको कोठा खानतलासी गर्दा उनको साथबाट १ थान कटुवा पेस्तोल, ३ ग्राम ७ मिलिग्राम खैरो हेरोइन र ८ ग्राम ४८ मिलिग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।
गैरकानुनी हतियार र लागुऔषधसहित पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्र कुमार मिश्रले जानकारी दिए।