अमेरिकाको न्युयोर्क–न्युजर्सी स्टेडियममा आइतबार हुने फिफा विश्वकप २०२६ को फाइनल हेर्न चाहने समर्थकले अन्तिम समयमा टिकट किन्न चाहे करोडपति हुनुपर्ने अवस्था आएको छ।
खेल सुरु हुनुभन्दा २४ घण्टाभन्दा कम समयअघि फाइनलको टिकटको मूल्य पुनर्बिक्री बजारमा २३ लाख अमेरिकी डलर (करिब ३५ करोड ५३ लाख नेपाली रुपैयाँ) सम्म पुगेको छ।
लियोनेल मेसीको अर्जेन्टिना र लामिन यामलको स्पेनबीच हुने फाइनललाई अमेरिकाको इतिहासकै सबैभन्दा महँगो खेलकुद प्रतियोगिता मानिएको छ।
शुक्रबारसम्म फिफाको आधिकारिक बिक्री प्लेटफर्ममा झण्डै सबै टिकट बिक्री भइसकेका थिए। त्यहाँ उपलब्ध केही टिकटको मूल्य करिब ३२ हजार अमेरिकी डलर (४९ लाख रुपैयाँ) थियो। तर शनिबारसम्म आधिकारिक बिक्रीका लागि कुनै टिकट बाँकी रहेन। पुनर्बिक्री प्लेटफर्ममा भने टिकटको मूल्य १० हजार डलरभन्दा कमदेखि २३ लाख डलरसम्म पुगेको देखिएको छ।
महँगो मूल्यका बाबजुद मैदान भरिभराउ
यस विश्वकपमा टिकटको मूल्य अहिलेसम्मकै उच्च भए पनि समर्थकको उत्साह भने घटेन। फिफाका अनुसार समूह चरणका ७२ मध्ये आधाभन्दा बढी खेल पूर्ण रूपमा भरिएका थिए भने अधिकांश अन्य खेलमा पनि केही सय सिट मात्र खाली थिए।
प्रारम्भिक चरणमा उपलब्ध कुल सिटमध्ये ९९.७ प्रतिशत भरिएको फिफाको तथ्यांकले देखाएको छ।
टिकट विशेषज्ञ स्कट फ्रिडम्यानका अनुसार फिफाले समर्थकको माग सही रूपमा अनुमान गर्न सफल भएकाले महँगो मूल्य राखेर पनि सबै टिकट बिक्री भए।
उनले भने, ‘फिफाले माग कति हुन्छ भन्ने उत्कृष्ट हिसाब गर्यो। १०४ वटै खेलका लागि समर्थकले निकै महँगो मूल्य तिर्न तयार भए।’
‘डाइनामिक प्राइसिङ’बाट मूल्य आकासियो
यस विश्वकपमा फिफाले पहिलोपटक डाइनामिक प्राइसिङ’ प्रणाली लागू गरेको थियो। यसअन्तर्गत वास्तविक समयको मागअनुसार टिकटको मूल्य बढ्ने वा घट्ने व्यवस्था गरिएको थियो।
समूह चरणका खेलको प्रारम्भिक टिकट मूल्य ५७५ डलर राखिएको थियो, जुन सन् २०२२ को विश्वकपको सबैभन्दा महँगो समूह चरणको टिकटभन्दा दोब्बरभन्दा बढी थियो। तर माग बढ्दै जाँदा धेरै समर्थकले यसभन्दा धेरै रकम तिर्नुपरेको थियो।
कोलम्बिया विश्वविद्यालयका प्राध्यापक एडम एल्माक्टुबले डाइनामिक प्राइसिङबारे पारदर्शिताको अभाव रहेको बताए।
उनले भने, ‘हवाई टिकट वा अन्य वस्तुमा डाइनामिक प्राइसिङ स्वीकार्य भए पनि विश्वकपजस्तो ठूलो प्रतियोगितामा यसको प्रक्रिया स्पष्ट हुनुपर्छ।’
विशेषज्ञहरूका अनुसार फिफाले ‘स्लो टिकटिङ’ रणनीति अपनाउँदै एकैपटक सबै टिकट बिक्रीमा नराखी विस्तारै सार्वजनिक गरेको थियो।
यसले टिकट अभावको मनोवैज्ञानिक प्रभाव सिर्जना गर्दै माग अझ बढाएको उनीहरूको भनाइ छ।
पुनर्बिक्री बजारमा झन् महँगो
अमेरिकामा पुनर्बिक्रीसम्बन्धी नियम अपेक्षाकृत खुकुलो भएकाले दोस्रो बजारमा टिकट विक्रेताले आफूअनुकूल मूल्य निर्धारण गर्न पाएका छन्। यसका कारण फाइनलको टिकट मूल्य झन् चुलिएको हो।
पुनर्बिक्री प्लेटफर्म सिटगिकका अनुसार शुक्रबारसम्म फाइनलको टिकटको औसत मूल्य ११ हजार डलरभन्दा बढी थियो, जुन सन् २०२४ को सुपर बाउलको औसत टिकट मूल्यभन्दा ८ प्रतिशत महँगो हो।
‘धनीका लागि मात्र विश्वकप’ भन्ने आलोचना
मानवअधिकारसम्बद्ध संस्थाहरूले भने यस विश्वकपमा सामान्य समर्थकको पहुँच निकै सीमित भएको टिप्पणी गरेका छन्।
फुटबल सपोर्टर्स युरोपका कार्यकारी निर्देशक रोनान इभानले भने, ‘यो विश्वकप केही सीमित र आर्थिक रूपमा सक्षम व्यक्तिहरूका लागि मात्र भएको जस्तो देखियो। अमेरिका यात्रा गर्न सक्ने, भिसा सजिलै पाउने र महँगो टिकट किन्न सक्ने समर्थकले मात्र यसको प्रत्यक्ष आनन्द लिन पाए।’
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले यसलाई सबैभन्दा समावेशी विश्वकप बनाउने दाबी गरे पनि भिसा समस्या र अत्यधिक महँगो टिकटका कारण धेरै देशका समर्थक मैदानसम्म पुग्न नसकेको आलोचना भइरहेको छ।