हाल देशभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराईनजिक र पूर्वतर्फ सरदर स्थान आसपास छ।
जसका कारण यतिबेला (बिहीबार बिहान) देशभर आकाशमा साधारणतया बादल (अलिअलि घाम पनि देखिएको अवस्था) छ। अनि लुम्बिनी प्रदेशका केही स्थानमा, कोसी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार,
दिउँसो : देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। देशको पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेश र सुदूरपश्चिम प्रेदशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी र बागमती प्रदेशका हिमाली भूभाग तथा कोसी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभाग र लुम्बिनी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति : देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेश, कोसी र बागमती प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली, पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना
आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार आज काठमाडौँ उपत्यकामा मध्यम वर्षा हुने सम्भावना छ।
‘खासगरी दिउँसो १/२ बजेपश्चात् बादल बढ्दै जाने र पानी पर्ने सम्भावना छ’, उनले भने, ‘अपराह्न र राति मध्यम वर्षा हुने सम्भावना देखिएको छ।’
उनले थपे, ‘अहिले भने काठमाडौँ उपत्यकाको आकाशमा साधारणतया बादल लागेको छ। घाम पनि देखिएको छ। तर यस्तो अवस्था १/२ घण्टासम्म मात्र रहला। त्यसपछि मौसम बदली हुँदै जाने सम्भावना छ।’