मूल्य नपाएको गुनासो, माइतीघरमा गोलभेँडा फालेर किसानको प्रदर्शन

 संवाददाता    २०८३, ३१ असार बुधबार १३:२८     0 View



Spread the love

तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन्।

सरकारले किसानलाई पर्याप्त अनुदान, उत्पादनको उचित मूल्य र बजारको सुनिश्चितता गर्न नसकेको तथा आयातमुखी नीतिका कारण स्वदेशी किसान मारमा परेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

प्रदर्शनका क्रममा किसानहरूले आफूहरूले उत्पादन गरेको गोलभेँडा बिक्री हुन नसकेको, लागतसमेत उठाउन कठिन भएको र सरकारले किसानका समस्या समाधानमा बेवास्ता गरेको आरोप लगाए। विरोधस्वरूप उनीहरूले गोलभेँडा सडकमै फाल्दै सरकारको कृषि नीतिप्रति असन्तुष्टि जनाएका थिए।

किसानहरूले कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण, उत्पादनमा अनुदान वृद्धि, मल–बीउको सहज उपलब्धता, बजार व्यवस्थापन तथा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति तत्काल लागू गर्न माग गरेका छन्।

उनीहरूले सस्तो आयातित तरकारीका कारण नेपाली किसान प्रतिस्पर्धामा टिक्न नसकेको पनि बताएका छन् ।