सुदूरपश्चिमको बजेट विवादमा सत्ता पक्षभित्र छलफल

 संवाददाता    २०८३, ३१ असार बुधबार १२:११     10 जनाले पढ़िसके



Spread the love

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई छलफलमा डाकेका छन् ।

असार १ गते कांग्रेस नेतृत्वको सरकारले ल्याएको बजेटबारे सत्ता गठबन्धनमै रहेको एमालेले तीव्र असन्तुष्टि व्यक्त गरिरहेको छ । सरकारमै रहेर पनि सरकारले ल्याएको बजेटबारे विवाद पैदा गरेको भन्ने विषयमा कुरा गर्न मुख्यमन्त्री शाहले १२ बजे सामूहिक रूपमा मन्त्रीहरूलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएको स्रोतले बताएको छ ।

कांग्रेस नेतृत्वमा रहेको सुदूरपश्चिम सरकारमा एमालेका भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा एमालेका मन्त्री छन् । त्यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयका राज्यमन्त्री पनि एमालेकै हुन् ।

सरकारमा सहभागी दलबाटै बजेट फेल गर्ने गरी खर्च कटौतीको प्रस्ताव दर्ता गरे पनि मुख्यमन्त्रीले प्रदेश र केन्द्रमा छलफल गरिरहेका छन् । यसैबीच एमालेका मन्त्रीहरूलाई सामूहिक रूपमा बोलाएर बजेटबारे राय लिने र त्यसपछि के गर्ने भन्नेबारे केन्द्रसँग छलफल गर्ने तयारी गरेका छन् ।

एमालेले बजेट फेल गर्ने बताएपछि मुख्यमन्त्री शाह सोमबार केन्द्रसँग छलफल गर्न काठमाडौं गएका थिए । उनले केन्द्रमा पार्टीका शीर्ष नेताहरूलाई सुदूरपश्चिमको अवस्था र एमालेको अडानबारे जानकारी दिएका थिए । कांग्रेस सभापतिसहितका पदाधिकारीहरूले एमालेसँग छलफल गरेर अघि बढ्न सुझाव दिएका थिए। एमाले अध्यक्ष केपी ओलीलाई भेट्न खोज्दा पनि भेट नभएपछि अहिले कांग्रेस-एमालेको गठबन्धन धरमराएको देखिन्छ।

कर्णाली प्रदेशमा एमालेको नेतृत्वमा रहेको सरकारबाट कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएलगत्तै कांग्रेसका मुख्यमन्त्रीले एमालेका मन्त्रीहरूलाई बोलाएको विषयलाई अर्थपूर्ण रूपमा हेरिएको छ।