कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन थालिएको छ । सोमबार बिहानैदेखि अस्पताल चोक र देवकोटा चोक क्षेत्रमा डोजर परिचालन गरिएको छ ।
सम्भावित अवरोध रोक्न ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अस्पतालको जग्गामा विभिन्न सङ्घ-संस्थाले व्यावसायिक प्रयोजनका लागि भवन निर्माण गरेका थिए । ती भवनबाट ती संस्थाहरूले भाडासमेत उठाउँदै आएका थिए । अस्पतालले पटक-पटक ती संरचना हटाउन प्रयास गर्दा पनि सफल हुन सकेको थिएन ।
अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरेका छन् । केही संस्थाले ३० भन्दा बढी सटर औषधि पसल, चिकित्सक लगायत तेस्रो पक्षलाई भाडामा दिएका थिए । अस्पतालले आफ्नो गुरुयोजना कार्यान्वयनका लागि लामो समयदेखि संरचना हटाउन ताकेता गर्दै आएको थियो ।
गत असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले स्थलगत अनुगमनका क्रममा संरचना खाली गराउन निर्देशन दिनुभएको थियो । त्यसलगत्तै अस्पताल प्रशासनले सात दिनभित्र संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको थियो, जसको म्याद सोमबार सकिएको छ । म्याद सकिएसँगै एकाबिहानैदेखि डोजर परिचालन गरिएको हो ।
अस्पतालको अभिलेखअनुसार नेपाल क्षयरोग निवारण संस्थाले ६ कट्ठा ८ धुर र नेपाल रेडक्रस सोसाइटीले करिब २ कट्ठा जग्गा वर्षौँदेखि प्रयोग गर्दै आएका थिए । गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले पनि सडक मोहडामा सटर निर्माण गरी व्यावसायिक प्रयोजनमा प्रयोग गर्दै आएका थिए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाले सबै अतिक्रमित संरचना हटाएर जग्गा आफ्नै सेवा विस्तार र संस्थागत प्रयोजनमा उपयोग गरिने बताए । जथाभावी निर्माण गरिएका संरचनामा डोजर चलाएर भत्काइएपछि वर्षौँदेखिको अतिक्रमण अन्त्य भई अस्पतालले आफ्नो सम्पत्ति निर्वाध रूपमा उपयोग गर्न पाउने उनको भनाइ छ ।
अस्पतालको जग्गामा बनाइएका भवन भत्काउँदा मानवीय सेवामा सञ्चालनमा रहेका रेडक्रस र क्षयरोग निवारण संस्थाहरूलाई भने समस्या परेको छ । रेडक्रसको भवनमा रक्त सञ्चार सेवा समेत सञ्चालनमा रहेको थियो ।