सुकुम्बासीसँग भेट्न खरिपाटी पुगे ६ मन्त्री, कानुनअनुसार समाधानको प्रतिबद्धता

 संवाददाता    २०८३, २८ असार आईतवार १६:१८     11 जनाले पढ़िसके



Spread the love

भूमिसुधार मन्त्री प्रतिभा रावलले सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकारले कानुनी प्रक्रिया पूरा गरेर मात्र लालपूर्जा वितरण गर्ने स्पष्ट पारेकी छन् । हचुवाको भरमा लालपूर्जा बाँड्दा भोलि कानुनी झमेला आउन सक्ने भन्दै उनले आगामी पुस्तौँसम्म कसैले प्रश्न उठाउन नसक्ने गरी सुरक्षित लालपूर्जा वितरण गर्ने सरकारको योजना रहेको बताइन् ।

कीर्तिपुरमा रहेको होल्डिङ सेन्टर हिजो जलमग्न भएपछि त्यहाँ रहेका सुकुम्वासीलाई खरिपाटी पुर्‍याइएको छ । आज सरकारका ६ जना मन्त्रीहरू एकसाथ खरिपाटी पुगेका थिए । गृहमन्त्री सुधन गुरुङ, स्वास्थ्यमन्त्री निशा मेहता, शिक्षामन्त्री सस्मित पोखरेल, श्रममन्त्री रामजी यादव, महिला मन्त्री सीता वादी र भूमिसुधारमन्त्री रावल खरिपाटी गएका हुन् ।

उनीहरूले सुकुम्वासीलाई आश्वस्त पार्ने प्रयास गरे । त्यस क्रममा भूमिसुधार मन्त्री रावलले सुकुम्वासीलाई सम्बोधन गर्दै सरकारको योजना सुनाएकी हुन् ।

उनले भनिन्, ‘हजुरबुवाको भरमा लालपूर्जा दिने होइन, भोलि तपाईँको पुस्तौँसम्म कसैले औँला उठाउन नसक्ने गरी नेपाल सरकारले काम गरिरहेको छ । नतिजामुखी कामका लागि समय लाग्छ, तर यो काम दिगो हुनेछ ।’

मन्त्री रावलका अनुसार असारको तेस्रो हप्ताबाट बर्दिया जिल्लाबाट लालपूर्जा वितरणको कार्य सुरु भइसकेको छ । अबको केही हप्तामा नेपालका धेरै जिल्लाहरूमा यो प्रक्रिया अगाडि बढ्ने उनले जानकारी दिइन् । सुकुम्वासीको नाममा वर्षौँदेखि हुँदै आएको राजनीति अन्त्य गर्न सरकारले ठोस कदम चालेको उनको दाबी छ ।

मन्त्री रावलले भावुकतामा आएर हतारमा लालपूर्जा बाँड्दा भोलि अदालतमा मुद्दा पर्न सक्ने र गरिबको लालपूर्जा खोसिन सक्ने खतरा औँल्याइन् ।

‘म इमोसनल भएर आजै लालपूर्जा दिउँला, तर भोलि कसैले मुद्दा हालिदियो भने त्यो खोसिन सक्छ,’ उनले भनिन्, ‘त्यसैले नागरिकता लगायतका आवश्यक कागजात र विवरणहरू पूरा गर्नुपर्छ । यो तपाईँहरूलाई नै सुरक्षित गर्नका लागि हो ।’

काठमाडौँबाट विभिन्न होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएका सुकुम्वासीहरूको हकमा सरकारले विशेष प्राथमिकता राखेर काम गरिरहेको मन्त्री रावलले बताइन् । कतिपयको नागरिकता नभएको समस्यालाई सम्बोधन गर्न सरकारी टोली नै सम्बन्धित ठाउँमा पुगेर विवरण संकलन गर्ने र प्रक्रिया मिलाउने उन प्रतिबद्धता छ ।

लालपूर्जा वितरणका लागि सुकुम्वासीको पहिचान मात्र नभई जग्गाको समेत पहिचान गर्नुपर्ने भएकाले यो विषय केही जटिल र संवेदनशील रहेको उनले उल्लेख गरिन् ।

‘म एक हप्तामै दिन्छु त भन्दिनँ, तर जति सक्दो चाँडो वास्तविक सुकुम्वासीले लालपूर्जा पाउने कुरामा म प्रतिबद्ध छु,’ उनले भनिन् ।

सरकारले भूमिहीन सुकुम्वासीलाई सुरक्षित ठाउँमा राख्ने र उनीहरूको हातमा राज्यले वैधानिक स्वामित्व सुम्पिने कार्यलाई उच्च प्राथमिकतामा राखेको मन्त्री रावलको भनाइ छ ।