झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ मा अबदेखि कुकुर पाल्दा अनिवार्य रूपमा वडा कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ । सामुदायिक कुकुरको टोकाइका कारण सर्वसाधारणमा समस्या बढेपछि वडा कार्यालयले यस्तो नियम लागू गरेको हो ।
वडाले सार्वजनिक सूचना जारी गर्दै सबै कुकुरधनीहरूलाई दर्ता प्रक्रियामा आउन आह्वान गरेको छ । दर्ताका लागि कुकुरधनीको नाम, ठेगाना, सम्पर्क नम्बर, कुकुरको जात, उमेर, लिङ्ग, रङ, उचाइ, लम्बाइ र तौल खुल्नुपर्नेछ । साथै, रेबिजविरुद्धको खोप लगाएको विवरण र कुकुर तथा धनीको रङ्गीन फोटोसमेत बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
वडा कार्यालयसँग जिम्मेवारी सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेपछि मात्र कुकुर दर्ता हुनेछ । वडा अध्यक्ष सन्तकुमार फेउदिनका अनुसार वडाले बनाएको कार्यविधिमा सहमति नभए वडाभित्र कुकुर पाल्न पाइने छैन ।
“कुकुर पाल्ने अधिकारसँगै त्यसको जिम्मेवारी पनि जोडिने भएकाले दर्ताको नियम लगाइएको हो,” अध्यक्ष फेउदिनले भने, “दर्ता भएको कुकुर घर वा तोकिएको कम्पाउन्ड बाहिर निस्किएर कसैलाई आक्रमण गरेमा त्यसबाट हुने उपचार खर्च, क्षतिपूर्ति र अन्य कानुनी दायित्व सम्बन्धित कुकुरधनीले नै बेहोर्नुपर्ने व्यवस्था गरेका छौँ ।”
वडा कार्यालयका अनुसार हालसम्म १२ जना कुकुरधनीले आफ्ना कुकुर दर्ता गराइसकेका छन् । यसअघि वडा नम्बर ८ मा सामुदायिक कुकुरको टोकाइबाट घाइते भएका ९ जनालाई नगरपालिकाले रेबिजविरुद्धको खोपसहित प्रतिव्यक्ति १० हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको थियो ।