भरतपुर महानगरपालिकाको वडा नम्बर २३ मा आमा छोराको ज्यान लिएको ध्रुवे हात्ती हप्ता दिनपछि माडी नगरपालिका पुगेको छ ।
ध्रुवेले गएराति माडी- १, बनकट्मा एक घर भत्काएको छ । स्थानीय अजय बोटका अनुसार गएराति करिब साढे १ बजे ध्रुवेले गाउँ पसेर आतंक मच्चाएको थियो । हात्तीले दीपक बोटेको घर भत्काउन थालेपछि गाउँले त्रसित भए ।
हात्तीले आतंक मच्चाउन थालेपछि स्थानीयले ट्याक्टर बोलाएर स्टार्ट गरेपछि त्यसको आवाजले हात्ती भागेको थियो । घरमा रहेका तीनजना भने हात्तीको आक्रमणबाट जोगिएका छन् ।
अजय बोटेका अनुसार ध्रुवे पहिलो पटक राति करिब १२ बजे बनकट्टास्थित बोटे टोलमा देखिएको थियो । त्यहाँबाट स्थानीयले लखेटेपछि केहीबेर जंगलतर्फ गएकोमा एक घण्टामै दीपक बोटेको घर पुगेको उनले बताए ।
हात्तीले घर भत्काउन थालेपछि परिवारले घरभित्रैबाट गाउँलेलाई फोन गरेर हात्ती भगाउन ट्याक्टर बोलाइदिन अनुरोध गरेका थिए । ट्याक्टरसहित पुगेका स्थानीयले भीड र हल्लाखल्ला भएपछि ध्रुवे निकुञ्जतर्फ भागेको थियो ।
मातेको ध्रुवे हात्ती एक सातायता बस्ती पसिरहेको छ । गत असार २० गते राति भरतपुर-२३ मा २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरतको ज्यान लिएको थियो ।
त्यस घटनापछि चितवन राष्ट्रिय निकुञ्जले हात्तीलाई डार्ट गरेर दाह्रा काट्ने र जीपीएस घाँटीमा लगाउन कर्मचारीलाई तयारी अवस्थामा राखेको जनाएको छ ।
शनिबारको विध्वंसपछि आइतबार मेघौली पुगेको ध्रुवे यो बीचमा बस्ती आसपास देखिएको थिएन । गएराति पुनः माडी नगरपालिका क्षेत्रमा देखिएपछि स्थानीय डराएका छन् ।