रास्वपाकी सांसद रञ्जु दर्शनाले सुकुमबासी व्यवस्थापनमा सरकारको तर्फबाट ठिक व्यवहार नभएको बताएकी छन्। उनले रोग, शोक र भोकमा बग्ने आँसु झुटो नहुने उनको भनाइ छ ।
उनले भनेकी छन्, ‘हिजो सुकुमबासी व्यवस्थापनको विषयमा १०० दिने कार्यसूचीको बुँदा ९१ भन्दा अघि ९२ अघि सारियो। दूध चुसाई रहेकी आमा, सुत्केरी, वृद्ध बा आमाहरू लाई पनि एकै व्यवहार नगरियोस् भनेर सदनमा पटक पटक आवाज राखेँ । सम्बन्धित निकायमा पनि निवेदन गरेँ । यो काम चाहिँ सरकारको तर्फ बाट ठिक ढङ्गले भएन ।’
उनले आज गणेश नेपालीको आत्मदाहबारे पनि उपचार खर्च व्योहर्नेसम्ममा सरकार सीमित रहन नमिल्ने बताइन् ।
उनले भनिन्, ‘गणेश नेपाली आफैँलाई जलाउने बिन्दुसम्म किन पुगे भन्ने खोजिनुपर्छ र त्यो खोजबाट सरकारले आफ्नो काममा प्रेरणा लिनुपर्छ। एक गणेशले त भौतिक रूपमै आफूलाई जलाए तर दैनिक मैले सकिन, मरौँ कि क्या हो भन्ने सोच आउने लाखौँ युवाको लागि जीवन केही भएपनि सहज हुने नीति सरकारबाट चाहिन्छ ।’
जीवनमा आधारभूत आवश्यकता पूरा हुनु मनको सबैभन्दा ठुलो सुरक्षा हुनुपर्ने उनको भनाइ छ ।
उनले थपेकी छन्, ‘मैले सकिनँ भन्ने आभास कमजोर मनोबल मात्रै हुँदैन, सामाजिक–आर्थिक संरचनाको ठक्करले मानिसहरूलाई ठेल्नु सम्म ठेले पछि यथार्थबाट आएको हुन्छ। मनोपरामर्श मात्रै यो अवस्थाको समाधान होइन ! जीवनमा आधारभूत आवश्यकता पूरा हुनु मनको सबैभन्दा ठुलो सुरक्षा हुन्छ।’
१०० दिनमा आमूल परिवर्तन, लाखौँ रोजगारी एकैपटक सिर्जना गर्न नसकिए पनि त्यसको जग निर्माणको अध्ययन र सुरुवात गर्न मात्र सकिने बताइन्।
‘जुन काम हुँदै पनि छ । सबैलाई एकैपटक खुसी बनाउन पनि सकिँदैन तर पिँढीमा रहेका श्रमजीवी, गरिबहरूको रोदन भने रोक्न सकिन्छ। सरकारको ध्यान जाओस्’ उनले भनेकी छन्, ‘मैले भनेको यो कुरा सामाजिक सञ्जालको रेकर्डमा पनि बसोस्।’