मधेशबाट काठमाडौंसम्म मिटरब्याजपीडितको पैदल यात्रा, प्रतिबद्धता कार्यान्वयनको माग

 संवाददाता    २०८३, २६ असार शुक्रबार ११:१७     16 जनाले पढ़िसके



Spread the love

मिटरब्याज पीडितहरूले जनकपुरदेखि काठमाडौंसम्मको पैदल मार्च शुरू गरेका छन् ।

बिहीबार जनकपुरधामको तिरहुतिया गाछि मैदानबाट देशभरका विभिन्न स्थानबाट आएका मिटरब्याज पीडितहरूले काठमाडौंसम्मको पैदल मार्च शुरु गरेका हुन् । पैदल मार्च शुरु गर्नुअघि उनीहरूले फर्जी तमसुक जलाएका थिए । साथै उनीहरूले मशाल जलाएर मार्चको शुभारम्भ गरेका छन् ।

पैदल मार्च शुरू गर्नुअघि लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनका केन्द्रीय अध्यक्ष रमेश सेन्चुरीले यस पटकको संघर्ष अन्तिम हुने जानकारी दिए ।

उनले वालेन्द्र साहले प्रधानमन्त्री बन्नुअघि जनकपुरधामबाटै गरेको सम्बोधनमा मिटरब्यजबाट पीडित भएकाहरूको समस्या समाधान गर्ने उद्घोष गरेता पनि १०० दिन बितिसक्दा पनि आफूहरुलाई बेवास्ता गरेको भन्दै गुनासो पोखे ।

अध्यक्ष सेन्चुरीले सरकारसँग चार पटक सहमति भए पनि कुनै सहमति प्रभावकारी रूपमा कार्यान्वयन नभएकाले अन्तिम प्रयास स्वरुप पुनः पैदल मार्च गर्नुपरेको बताए ।

उनले काठमाडौं पुगेर सरकारविरुद्ध आन्दोलन गर्नुअघि सरकारले आफूहरूको माग सम्बोधन गर्नेमा आशावादी रहेको पनि बताए । उनले मिटरब्याजपीडित देशभरि छरिएर रहेकोले सबैलाई काठमाडौं सम्मको पैदल यात्रामा सहभागी हुन आव्हान गरेका छन् ।