अमेरिका–इरान संकट गहिरियो, होर्मुजमा जहाजको आवागमन घट्दै

 संवाददाता    २०८३, २६ असार शुक्रबार ११:१२     14 जनाले पढ़िसके



Spread the love

अमेरिका र इरानबीच बिहीबार पनि आक्रमण र प्रतिआक्रमण जारी रहँदा मध्यपूर्वमा तनाव अझ बढेको छ।

यसैबीच, पर्यवेक्षकहरूले विश्व व्यापारका लागि अत्यन्तै महत्वपूर्ण होर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजहरूको संख्या उल्लेख्य रूपमा घटेको बताएका छन्।

अमेरिकाले होर्मुज नजिक रहेका स्थानसहित इरानका ९० वटा सैन्य लक्ष्यमा आक्रमण गरेको जनाएको छ। यता, इरानले पछिल्ला दुई दिनमा अमेरिकी आक्रमणका कारण १४ सर्वसाधारणको मृत्यु भएको दाबी गरेको छ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार बुशेहर आणविक ऊर्जा केन्द्र वरपरका केही स्थानमा पनि आक्रमण भएको छ। यो जानकारी बुशेहर प्रान्तका उप–गभर्नरलाई उद्धृत गर्दै सार्वजनिक गरिएको हो। यद्यपि, अमेरिकाले यी पछिल्ला आक्रमणबारे कुनै प्रतिक्रिया दिएको छैन।

इरानले जवाफी कारबाहीस्वरूप कुवेत, बहराइन र कतारमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको जनाएको छ। त्यसपछि सरकारी समर्थित सञ्चारमाध्यमले इरानले कुवेत, जोर्डन र इराकका विभिन्न स्थानमा थप आक्रमण गरेको दाबी गरेका छन्।

यसैबीच, इरानका दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई छ दिनसम्म चलेको अन्त्येष्टि कार्यक्रमपछि अन्तिम बिदाइ दिइएको छ।

उत्तरपूर्वी इरानको मशहद शहरमा लाखौं मानिस इरानी झण्डा बोकेर सडकमा उत्रिएका थिए। केही प्रदर्शनकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ज्यान मार्ने धम्की लेखिएका पोस्टर पनि बोकेका थिए।

खामेनीको गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणका क्रममा मृत्यु भएको थियो।