हिजो त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि गणेश नेपालीले गरेको आत्मदाह प्रयासको घटनाका सम्बन्धमा एक प्रत्यक्षदर्शी महिलाले महानगर प्रहरीको संवेदनहीनता र लापरबाहीप्रति गम्भीर आरोप लगाएकी छिन् । घटनाका बेला बच्चासहित नजिकै रहेकी प्रत्यक्षदर्शी रन्जु ढकालका अनुसार महानगर प्रहरी (महिला) र गणेशबीच वादविवाद भएको थियो ।
गणेशले आफ्नो मोटरसाइकल केही समयका लागि मात्र त्यहाँ रोकेको ढकाल बताउँछिन् । नगर प्रहरीले ‘यहाँ बाइक नराख्नुस्’ भन्दा नेपालीले ‘म गइहाल्छु’ भनेर अनुरोध गरेका थिए । तर, उनले कुरा सुन्नुको साटो तुरुन्तै ह्विल लक गरिदिएपछि विवाद सुरू भएको ढकालको भनाइ छ । लामो समयसम्म भनाभन र बहस भएको उनले बताएकी छन् ।
रिसको आवेगमा आएर गणेशले आफ्नो शरीरमा पेट्रोल छर्कन थालेका थिए ।
‘त्यो भाइ पेट्रोल छर्किँदै कुदेको थियो, छिट्का मेरो हातमा पनि पर्यो । मेरो सानो बच्चा थियो, म त बच्चा लिएर ज्यान जोगाउन भवनतिर भागेँ,’ ढकालले भक्कानिँदै सुनाइन् ।
म यहाँ नजिकैको साइबरमा सानो बच्चा लिएर काम गर्छु । त्यो भाइ (गणेश नेपाली) त्यहाँ आफ्नो मोटरसाइकलमा बसिरहेको थियो । त्यत्तिकैमा महानगरकी प्रहरी आउनुभयो र ‘यहाँ पार्किङ नगर्नुस्, नो पार्किङ हो’ भन्नुभयो । त्यो भाइले ‘म अहिल्यै गइहाल्छु’ भन्दै हुनुहुन्थ्यो, तर उहाँले सुन्दै नसुनी झ्याप्प ह्वील लक लगाइदिनुभयो । त्यसपछि उहाँहरूबीच भनाभन सुरु भयो ।
ह्वील लक लगाएपछि करिब एक घण्टासम्म उहाँहरूबीच ठूलो डिस्कस भयो । पछि कालीमाटीबाट असई सापहरू पनि आउनुभयो र छलफल भइरह्यो । उहाँहरूबीच के-के कुरा भयो, त्यो भाइले केही अपशब्द पनि बोले होलान्, रिसको आवेगमा मान्छेले जे पनि बोल्छ । उहाँले पछि माफी माग्नुभयो कि भएन, हामी अलि टाढा भएकोले ठ्याक्कै सुन्न पाएनौँ ।
छलफल चलिरहेकै थियो, म चाहिँ बाबुलाई लिएर खाना खान क्याफेतिर जाँदै थिएँ । अचानक त्यो भाइ शरीरमा पेट्रोल हाल्दै कुदेर आयो । पेट्रोलका केही छिट्का मेरो हातमा पनि परे । म त झस्किएँ । मेरो काखमा सानो बच्चा थियो, उसको ज्यान जोगाउन म हतार-हतार भवनको माथिल्लो तलामा उक्लिएँ । भगवानले गर्दा आज मेरो बच्चा जोगियो ।
त्यहाँ मान्छे आगोले जलेर लम्पसार परेको छ, तर महानगर प्रहरीको टोली चाहिँ त्यो भाइको बाइक गाडीमा हाल्नतिर व्यस्त थियो । मान्छेको ज्यानभन्दा ठूलो बाइक हो र ? उहाँहरू राष्ट्रसेवक भएर पनि एउटा नागरिकलाई बचाउनुको साटो उल्टै डराएर भित्र लुक्न जानुभयो । पछि स्थानीय मान्छेहरूले भित्रबाट मिनी वाटर र जारका पानी ल्याएर खन्याएपछि मात्र आगो निभ्यो । अस्पताल लैजान पनि प्रहरीको गाडी पाइएन, ट्याक्सीमा हालेर पठाइयो ।
हो, नो पार्किङमा बाइक राखेर त्यो भाइको पनि गल्ती थियो होला । तर अहिलेको समयमा मान्छेको खल्तीमा खाजा खान २०० रूपैयाँ हुँदैन, एक्कासि हजार दुई हजार जरीवाना कसरी तिर्ने ? एक पटकलाई ‘सरी’ भनेर माफी दिएको भए यस्तो हुने थिएन । एउटा सामान्य कुरोलाई इगो बनाउँदा आज यत्रो घटना भयो ।
सत्य कुरा कहिल्यै लुक्दैन र लुकाउनु पनि हुँदैन । त्यहाँ सीसीक्यामेरा छ, त्यसको फुटेज चेक गरियोस् । महानगर प्रहरी र अरू जो-जो डिउटीमा थिए, उनीहरूको लापरबाहीको पनि छानबिन होस् । त्यो भाइको पनि घरपरिवार, छोराछोरी होलान्, उनीहरूलाई कति गाह्रो भयो होला । यो घटनामा निष्पक्ष न्याय हुनुपर्छ ।