आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्न कांग्रेस र एमालेले ह्वीप जारी गरेका छन् । आज बस्ने प्रदेश सभाको बैठकमा अनिवार्य रूपमा उपस्थित हुन र बजेटको पक्षमा उभिन दुवै दलले आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन् । आजको बैठकमा बजेट पारित गर्ने कार्यसूची रहेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिंथेपले पेश गरेको बजेट असन्तुलित भएको भन्दै सत्ताधारी सांसदहरूले नै विरोध जनाएका थिए । असन्तुष्ट सांसदहरूले बजेटको विपक्षमा हस्ताक्षर संकलन थालेपछि प्रदेश सरकारले बजेटको असन्तुलन मिलाउन विभिन्न मन्त्रालयबाट १ अर्ब रुपैयाँ समर्पण (सरेन्डर) गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री र मन्त्रीका निर्वाचन क्षेत्रमा मात्र बजेट केन्द्रित गरिएको भन्दै सत्तापक्षीय सांसदहरूले नै विरोध र हस्ताक्षर अभियान चलाएपछि सरकार दबाबमा परेको थियो । सांसदहरूको असन्तुष्टिका कारण यसअघि पटक-पटक प्रदेश सभा बैठक स्थगित भएको थियो । अन्ततः सरकारले १ अर्ब रुपैयाँ कटौती गर्ने प्रतिबद्धता जनाएपछि विवाद साम्य भएको हो ।
एमालेका प्रमुख सचेतक रमेशकुमार बस्नेत र कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले संसदीय विधान अनुसार नै बजेट पारित गर्न ह्वीप जारी गरिएको बताएका छन् । कोशी सरकारले असार १ गते ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।