लागुऔषध मुद्दामा दोषी ठहरिएका पाल्हीनन्दन अध्यक्षविरुद्ध अवैध सम्पत्ति आर्जनको अर्को मुद्दा

 संवाददाता    २०८३, २२ असार सोमबार १४:४५     13 जनाले पढ़िसके



Spread the love

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) विरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

अख्तियारले गुप्ताले सार्वजनिक पदमा रहँदा आफ्नो आयस्रोतको तुलनामा ३ करोड ४५ लाख ९९ हजार १६७ रूपैयाँ ८४ पैसा बराबरको सम्पत्ति अस्वाभाविक रूपमा आर्जन गरेको दाबीसहित आज अभियोग दर्ता गरेको हो ।

आयोगका अनुसार गुप्ता २०७४ असार २० गते गाउँपालिका अध्यक्ष निर्वाचित भएदेखि २०७९ असार २८ गतेसम्मको जाँच अवधिमा उनको कुल वैध आम्दानी ३ करोड ५१ लाख ५२ हजार ६२० रुपैयाँ ८८ पैसा देखिएको छ । सोही अवधिमा उनले जग्गा खरिद, घर निर्माण, बैंक ऋणको सावाँ-ब्याज भुक्तानी, शेयर खरिद र सवारी साधन खरिदलगायतमा ६ करोड ९७ लाख ५१ हजार ७८८ रुपैयाँ ७३ पैसा खर्च गरेको पाइएको छ।

वैध आयको तुलनामा खर्च र लगानी बढी देखिएको र सो स्रोत नखुलेको सम्पत्ति भ्रष्टाचारजन्य कार्यबाट आर्जन गरेको अख्तियारको ठहर छ ।

अवैधरूपमा कमाएको सम्पत्ति गुप्ताले आफ्नो परिवारका सदस्यहरूको नाममा समेत राखेको देखिएको भन्दै अख्तियारले उनका बुबा वंशराज गुप्ता, आमा धनमती तेली, तथा श्रीमतीहरू सुलोचना गुप्ता र शारदा आचार्य गुप्तालाई पनि अवैध सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाएको छ ।

१ वर्षअघि गुप्तालाई जिल्ला अदालत नवलपरासीले लागुऔषधसम्बन्धी मुद्दामा १ वर्ष कैद, २ लाख रूपैयाँ जरिवाना र ८ हजार रूपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।