विश्वकप फुटबलमा एउटा कुरा आजसम्म निश्चितप्रायः थियो– यदि तपाईंले रेड कार्ड खाँदै बीचैमा मैदान छाड्नुभयो भने अर्को खेल खेल्न पाउनुहुन्न।
यसमा कसैको केही लाग्दैन।
तर अमेरिकी फुटबल टोलीका फरवार्ड फोलेरिन बालोगनलाई दिइएको रेडकार्ड फिफाले फिर्ता लिने निर्णय गरेपछि भने धेरै अनुत्तरित प्रश्नहरु खडा भएका छन्।
बोस्निया–हर्जगोभिनाविरुद्धको अमेरिकी जितमा उनी अन्तिम ३२ को खेलमा रेड कार्ड खाँदै मैदानबाहिर जानुपरेको थियो। तर अब सोमबार बेल्जियमविरुद्धको अन्तिम १६ को खेलमा पुनः उनले खेल्न पाउने भएका छन्।
उनी अमेरिकी टोलीका शीर्ष गोलकर्ता हुन्। उनले ३ गोल गरेका छन्।
विश्वकपको इतिहासमा आजसम्म १ सय ८९ वटा रेड कार्ड दिइएको छ। त्यसमध्ये दुई खेलाडीले मात्र उक्त निलम्बन भोग्नुपरेको छैन।
यस्तै भाग्यमानी खेलाडी हुन् ब्राजिलका गारिन्चा। सन् १९६२ मा उनी सेमिफाइनलमा चिलीविरुद्ध रेडकार्ड खाँदै बाहिरिएका थिए। तर फाइनलमा उनले चेकोस्लाभाकियाविरुद्ध खेल्न पाए।
त्यसयता स्वतः प्रतिबन्ध भएको थियो। यसबारे अधिकारीहरुले पेस गरेको प्रमाणका आधारमा कमिटीबाट निर्णय हुँदै आएको छ।
फिफाको अनुशासन कमिटीको सन् १९६२ को निर्णयलाई राजनीतिक हस्तक्षेपका रुपमा लिँदै तीव्र विरोध भएको थियो।
यसपालिको निर्णयलाई पनि त्यसैको पुनरावृत्ति मानिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फान्टिनोबीच राम्रो सम्बन्ध रहेको चर्चाबीच पछिल्लो निर्णयले सबैलाई अचम्ममा पारेको हो।
अमेरिकी मिडिया सीबीएस न्युजका अनुसार बालोगनको निलम्बन फुकुवा उक्त दुई जनाबीच बिहीबार भएको कुराकानीपछि आएको हो। स्रोतलाई उद्धृत गर्दै लेखिएको समाचारअनुसार ट्रम्पको आग्रहपछि फिफाले बालोगनको रेडकार्ड युटर्न गरेको हो।
बालोगनको कार्ड फिर्ता भए पनि ११ अन्य खेलाडीले भने निलम्बन भोगेका छन्। यसले फुटबलजगतमा तरंग पैदा गरेको बीबीसीले जनाएको छ।