अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वालेन्द्र शाह नेतृत्वको सरकारले राजकाज थालेको दिनमा आफूहरूलाई ३० खर्ब रुपैयाँको ऋणको बिल बुझाइएको बताएका छन्।
राष्ट्र ऋण उठाउने विधेयक २०८३ माथि उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले चैत १३ गते राजकाज अघि बढाउन वैधता पाएको दिन नै अहिलेसम्मको ३० खर्ब रुपैयाँ दायित्वको बिल दिइएको प्रतिक्रिया दिएका हुन्।
‘ऋण भनेको स्टक हो। यो थुप्रिंदै आएको हो। लिँदै जान्छौँ, तिर्दै जान्छौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार चैत १३ गते बन्यो। हामीलाई यो देशको राजकाज अघि बढाउनका लागि जुन वैधता प्राप्त भयो र सँगसँगै ३० खर्बको बिल पनि बुझाइया थियो। ऋणको भारी यो पनि तिमीले तिर है भनेर हामीलाई बुझाइया थ्यो। त्यो बेकेर नै हामी अगाडि बढी राख्या थ्यौँ’, अर्थमन्त्री वाग्लेले भने।
१० वर्षको अवधिमा विदेशी ऋणको अनुपात २५ प्रतिशतबाट बढेर ४३ प्रतिशत पुर्याइएको उनले जानकारी दिए। सन् २०१५ मा नेपालको डेट टु जीडीपी रेसिओ २५ प्रतिशत रहेकामा सन् २०२५ सम्ममा त्यो ४३ प्रतिशत पुगेको उनले बताए।
‘२५ प्रतिशतको डेट भारलाई ४३ प्रतिशत पुर्याउन त्यतिबेला को सरकारमा थियो, को प्रधानमन्त्री थियो यो त छर्लङ्गै छ। यति छोटो समयमा ऋणको भार ४३ प्रतिशत पुर्याइएको रेकर्डको पनि छुट्टै प्राज्ञिक अनुसन्धान हुनुपर्ला। हामीले त झण्डै सात खर्ब ऋण थोपरेर पनि त्यो डेट टु जीडीपी रेसिओ बढाउने वाला छैनौं स्थिर राख्छौं। किनकि हाम्रो ध्यान आन्तरिक राजस्व तिर सोझिएको छ’, उनले भने।