विद्युत् सेवामा नयाँ अभ्यास, करेन्ट प्रवाह भइरहेकै अवस्थामा मर्मत

 संवाददाता    २०८३, १४ असार आईतवार १४:४७     9 जनाले पढ़िसके



Spread the love

नेपाल विद्युत् प्राधिकरणले बिजुली बगिरहेको लाइनमा नै मर्मतसम्भार गर्ने काम सुरु गरेको छ। प्राधिकरणले लुम्बिनी प्रादेशिक कार्यालयबाट यो काम थालनी गरेको हो।

विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठको उपस्थितिमा लुम्बिनी प्रादेशिक कार्यालयबाट यो काम थालनी गरेको प्राधिकरणले जानकारी दिएको छ।

‘उपभोक्ताहरूलाई अवरोधविनै गुणस्तरीय तथा निरन्तर विद्युत् उपलब्ध गराउने उद्देश्यका साथ नेपालमै पहिलोपटक चालू अवस्थाको विद्युत् लाइन अत्याधुनिक मर्मत उपकरणको प्रयोग गरी मर्मतसम्भार कार्यको सुरुवात गरेका हौँ,’ लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख मनोजकुमार यादवले भने, ‘विद्युत् आपूर्तिलाई थप भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले चालू लाइनमै मर्मतसम्भार गर्ने कार्यलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने उद्देश्यले यो नमूना कार्यको रुपमा सुरुवात गरेका हौँ।’

नमुना कार्यका रुपमा बुटवल उपमहानगरपालिका–११ कालिकानगरमा रहेको ११ केभी लाइनको मर्मत गरी कार्य प्रारम्भ गरिएको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक नवराज ओझाले जानकारी दिए।

तालिम प्राप्त कर्मचारीले अत्याधुनिक मर्मत उपकरणको प्रयोग गरेर चालू लाइनको मर्मतको काम गरेका थिए।

‘हाललाई नमुनाको रुपमा सुरुवात गरिएको यो कार्यलाई प्रभावकारिता र आवश्यकताको आधारमा विशेषगरि सहरी क्षेत्रको नियमित मर्मतसम्भारको कार्यमा प्रयोग गर्नेछौं,’ कायमुकायम कार्यकारी निर्देशक श्रेष्ठले भने।

यो अभ्यास सफल भएमा लाइन काटेर विद्युतीय पूर्वाधार मर्मत गर्नुपर्ने बाध्यता हट्नेछ।