कक्षा १२ को परीक्षाफल सार्वजनिक, ६४.३१ प्रतिशत उत्तीर्ण, १ लाखभन्दा बढी विद्यार्थीमा ‘एनजी’

 संवाददाता    २०८३, ५ असार शुक्रबार १०:४३     26 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालित कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा आज बिहान सार्वजनिक गरिएको हो ।

सार्वजनिक नतिजा अनुसार यस वर्ष नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। नियमिततर्फ परीक्षामा सहभागी कुल ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये २ लाख ३१ हजार ७७० जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका हुन् ।

त्यसैगरी, नियमिततर्फका १ लाख ४ सय ७१ एनजीको सामना गरे । यो नियमिततर्फको कुल परीक्षार्थी संख्याको करिब ३०.२५ प्रतिशत हो।

नियमित र आंशिक गरी यसपटक कुल ४ लाख ९५ हजार १७० परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये आंशिकतर्फका ३६ हजार ४२० जनासहित कुल २ लाख ६८ हजार १९० जनाले नतिजामा सफलता हात पारेका छन् । दुवैतर्फका गरी ६४.३१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षामा अमर्यादित गतिविधि गर्ने ४० जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।

कुन जीपीएमा कति विद्यार्थी ?

बोर्डले उपलब्ध गराएको नतिजाअनुसार यस वर्ष २.८१ देखि ३.२० जीपीएको सूचीमा धेरै विद्यार्थी छन्। यस समूहमा ९४ हजार २४९ जना छन्।

३.६१ देखि ४.० जीपीए : १७,७८६ जना

३.२१ देखि ३.६० जीपीए: ६४,८२१ जना

२.८१ देखि ३.२० जीपीए: ९४,२४९ जना

२.४१ देखि २.८० जीपीए: ५०,५९७ जना

२.०१ देखि २.४० जीपीए: ४,३०८ जना

१.६१ देखि २.०० जीपीए: ९ जना

सैद्धान्तिक परीक्षामा कम्तीमा ‘डी’ ग्रेड ल्याउनुपर्ने बोर्डले जनाएको छ । सोभन्दा कम अंक ल्याई बढीमा दुई विषयमा ‘एनजी’ आएका वा बढीमा दुई विषयमा अनुपस्थित रहेका विद्यार्थीले मौका (पूरक) परीक्षा दिन पाउनेछन् । समयतालिका छिट्टै सार्वजनिक गर्ने बोर्डले जनाएको छ ।

विद्यार्थीले नतिजा राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकमको वेबसाइट साथै एसमएसबाट थाहा पाउन सकिने बताएको छ ।