सप्तरीमा प्रहरीमाथि तस्कर समूहको हमला, असई घाइते

 संवाददाता    २०८३, ४ असार बिहीबार १०:४८     16 जनाले पढ़िसके



Spread the love

सप्तरीको बलानबिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीस्थित नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा क्षेत्र दशगजा नजिक नेपाल प्रहरी टोलीमाथि तस्कर समूहले आक्रमण गरेको छ ।

स्थानीय स्रोतका अनुसार सीमा स्तम्भ नम्बर २४३ नजिक तस्करी गतिविधिबारे सूचना पाएपछि पुगेको रामनगर कोदरकट्टी प्रहरी चौकीको टोलीमाथि तस्कर समूहले हातपात गरेको हो। घटनामा प्रहरी चौकीका इन्चार्ज असई रामकुमार यादवमाथि कुटपिट भएको बताइएको छ।

स्थानीयवासीका अनुसार तस्कर समूहले भारतीय नागरिकसमेत बोलाएर प्रहरीमाथि आक्रमण गरेको आरोप लगाइएको छ। घटनापछि सीमा क्षेत्रमा केही समय तनावको अवस्था सिर्जना भएको थियो।

घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तथा प्रवक्ता हेमराज घिमिरेले प्रहरीमाथि कुटपिट भएको पुष्टि गर्दै घटनाको वास्तविक कारण र संलग्न व्यक्तिबारे अनुसन्धान भइरहेको बताए। उनले घटनाको विषयमा थप बुझ्ने तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने काम भइरहेको जानकारी दिए।

घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।