‘कुनै आमाले यस्तो क्षण गुमाउनु हुँदैन’ भन्दै भोजिन्हाकी आमालाई अमेरिका ल्याउन माग

 संवाददाता    २०८३, ३ असार बुधबार १०:४३     32 जनाले पढ़िसके



Spread the love

अमेरिकी प्रतिनिधिसभाका डेमोक्र्याटिक नेता हाकिम जेफ्रिजले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग केप भर्डेका गोलकिपर भोजिन्हा (जोसिमार डायस)की आमालाई अमेरिका प्रवेश गर्न सहयोग गर्न आग्रह गरेका छन् ।

भोजिन्याकी आमा आना कान्दिदा एभोरा स्पेनविरुद्धको ऐतिहासिक गोलरहित बराबरीको खेल हेर्न अमेरिका जान सकिनन् । यसको मुख्य कारण अमेरिकी भिसाका लागि आवश्यक धरौटी रकम (बन्ड)को उच्च लागत थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले जनवरीमा लागू गरेको नियमअनुसार केप भर्डेसहित दर्जनौँ देशका नागरिकले अमेरिका प्रवेशका लागि १५ हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्ने व्यवस्था गरिएको थियो । यसको उद्देश्य भिसा अवधि नाघेर बस्नेहरूलाई नियन्त्रण गर्नु थियो ।

यद्यपि गत महिना अमेरिकाले विश्वकपको टिकट भएका समर्थकका लागि धरौटी व्यवस्था हटाएको घोषणा गरेको थियो । तर त्यसबेलासम्म खर्चको भारका कारण एभोराले अमेरिका जाने योजना नै त्यागिसकेकी थिइन् ।

‘मलाई यात्रा गरेर खेल हेर्न निकै मन थियो, तर त्यो सम्भव भएन,’ एभोराले बताइन् ।

‘कुनै पनि आमाले यस्तो अवसर गुमाउनु हुँदैन’
एभोराले छोराको ऐतिहासिक प्रदर्शन प्रत्यक्ष हेर्न नपाएको घटनाले अमेरिकामा पनि प्रतिक्रिया जन्माएको छ ।

हाकिम जेफ्रिजले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘कुनै पनि आमाले आफ्नो सन्तानले इतिहास रचेको क्षण हेर्ने अवसर गुमाउनु हुँदैन ।’

उनले विदेशमन्त्री मार्को रुबियोलाई आगामी आइतबार हुने केप भर्डेको अर्को खेलमा एभोरालाई उपस्थित गराउन सक्दो पहल गर्न आग्रह गरेका छन् ।

अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीका अनुसार एभोराले अहिलेसम्म भिसाका लागि आवेदन दिएको अभिलेख भेटिएको छैन । तर विश्वकपमा सहभागी खेलाडीका परिवारका सदस्यहरू भिसा धरौटी छुटको सुविधाका लागि योग्य हुने बताएका छन् ।

ती अधिकारीले अमेरिकी प्रशासनले ‘खेलाडीको परिवारसँग सम्पर्क गरेर भिसा प्रक्रियामा सहयोग गरिरहेको’ जानकारी पनि दिएका छन् ।

‘म आमालाई यहाँ देख्न चाहन्छु’
सोमबार विश्वकप डेब्यु खेलमा स्पेनको शक्तिशाली आक्रमण पंक्तिलाई गोल गर्न रोकेका भोजिन्हाले विश्व फुटबल जगतलाई चकित बनाएका थिए । खेल सकिएपछि उनी भावुक हुँदै आँसु झारेका थिए ।

पछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नी आमा उपस्थित हुन नसकेको पीडा व्यक्त गरे ।

‘मेरी आमा पनि यहाँ आउन सक्नुभएन। भिसासम्बन्धी समस्या भयो। भिसाका लागि आवश्यक रकम समयमै जुटाउन सकेनौँ। म उहाँलाई यहाँ देख्न चाहन्थेँ,’ उनले भने ।