मुस्ताङको लोमन्थाङमा भारतद्वारा गुम्बा विद्यालयको छात्रावास भवन निर्माण

 संवाददाता    २०८३, २ असार मंगलवार १५:२८     20 जनाले पढ़िसके



Spread the love

भारत सरकारको आर्थिक सहयोगमा मुस्ताङको लोमन्थाङ गाउँपालिका–१ स्थित लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयका लागि निर्माण गरिएको नयाँ छात्रावास भवनको औपचारिक उद्घाटन गरिएको छ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले एक विशेष समारोहका बीच उक्त भवनको संयुक्त रूपमा उद्घाटन गरे। ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ अन्तर्गत निर्माण गरिएको यो दुई तले छात्रावास भवनमा चारवटा ब्लक र अन्य सम्बद्ध संरचनाहरू रहेका छन्।

यस परियोजनाको कार्यान्वयन लोमन्थाङ गाउँपालिका मार्फत गरिएको हो। लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयले यस क्षेत्रको स्थानीय सांस्कृतिक सम्पदाको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। बौद्ध शिक्षाका साथै यस विद्यालयले नेपाल सरकारको राष्ट्रिय पाठ्यक्रम अनुरूपको गुणस्तरीय शिक्षा समेत प्रदान गर्दै आएको छ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय राजदूत नवीन श्रीवास्तवले परियोजनासँग सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे। उनले साझा विकास र समृद्धिका लक्ष्यहरू हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग मिलेर काम गर्ने भारत सरकारको दृढ प्रतिबद्धता दोहोर्‍याए।

सो अवसरमा लोमन्थाङ गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालाहरूले भारत सरकारको विकास सहयोगप्रति आभार व्यक्त गरे। नयाँ पूर्वाधारले विद्यालयको आवास सुविधा सुदृढ बनाउनुका साथै सिकाइ वातावरणमा समेत सुधार ल्याउने विश्वास व्यक्त गरे।

भारत सरकारले उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम अन्तर्गत हालसम्म नेपालका ७ वटै प्रदेश र ७४ वटा जिल्लालाई समेट्ने गरी करिब ६०० वटा परियोजनाहरू अगाडि बढाइसकेको छ। जसमध्ये गण्डकी प्रदेशमा ६३ वटा परियोजनाहरू रहेका छन् भने मुस्ताङ जिल्लामा मात्रै १८ वटा परियोजनाहरू सञ्चालित छन्।

यसबाहेक, भारतले मुस्ताङमा ११ वटा एम्बुलेन्स र ६ वटा स्कुल बससहित गण्डकी प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरूलाई कुल १२६ वटा एम्बुलेन्स र ५२ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकेको छ। निकटतम छिमेकीका रूपमा नेपाल र भारतबीच बहुआयामिक सहकार्य रहँदै आएको छ।

यस किसिमका विकास परियोजनाहरूको सफल कार्यान्वयनले नेपाल सरकारको पूर्वाधार विकास र समृद्धिको लक्ष्यलाई थप बल पुर्‍याउनुका साथै दुई देशबीचको निरन्तर सहयोग र मैत्रीपूर्ण सम्बन्धलाई प्रतिविम्वित गरेको छ।