धनगढीमा रास्वपा नेता सिंहमाथि आक्रमण, प्रहरीले एक जनालाई समात्यो

 संवाददाता    २०८३, २ असार मंगलवार १३:३५     43 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शैलेशकुमार सिंहमाथि कैलालीको धनगढीमा आक्रमण भएको छ ।

रास्वपाको सुदूरपश्चिम प्रदेश अधिवेशनबाट घर फर्किने क्रममा आफूमाथि योजनाबद्ध रूपमा आक्रमण भएको सिंहले बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबार राति ७-८ जनाको समूहले आफूलाई सांघातिक आक्रमण गर्नुका साथै साथमा रहेका सामानसमेत लुटेर लगेको दाबी गरेका छन्।

यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार धनगढी उपमहानगरपालिका–४ स्थित रिद्धिसिद्धि पार्टी प्यालेस नजिक राति करिब साढे १ बजेतिर सामान्य विवादका क्रममा सिंहमाथि कुटपिट भएको थियो।

घटनामा संलग्न रहेको आरोपमा बझाङको बुङ्गल नगरपालिका-२ निवासी २८ वर्षीय गोविन्द धामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। कुटपिटमा संलग्न अन्य व्यक्तिहरू फरार रहेकाले खोजी कार्य जारी रहेको डीएसपी तिमिल्सिनाले बताए।

कुटपिटबाट सिंहको बायाँ आँखाको भौँमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, उक्त घटनाको विषय प्रतिनिधिसभा बैठकमा पनि उठाइएको छ। नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले रास्वपा नेता सिंहमाथि धनगढीमा भएको आक्रमणप्रति सरकारको ध्यानाकर्षण गराउँदै दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले रास्वपाको सुदूरपश्चिम प्रदेश अधिवेशनबाट फर्किने क्रममा असार १ गते राति ७–८ जनाको समूहले सिंहमाथि योजनाबद्ध रूपमा आक्रमण गरेको बताए। उनले आक्रमणकारीहरूले सिंहसँग रहेका ल्यापटप, मोबाइल फोन, घडी, सिक्रीलगायत बहुमूल्य सामानसमेत लुटेर लगेको जानकारी गराएका थिए।

सिंह बझाङबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा एमालेका ऐन महर निर्वाचित हुँदा सिंह चौथो स्थानमा रहेका थिए।