उच्चस्तरीय भेटमा लगानी र पूर्वाधार कनेक्टिभिटीबारे छलफल

 संवाददाता    २०८३, २ असार मंगलवार १३:१२     53 जनाले पढ़िसके



Spread the love

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले मंगलबार बेइजिङमा चाइनिज पिपल्स पोलिटिकल कन्सल्टिभ कन्फरेन्स अफ द पिपल्स अफ चाइना (सीपीपीसीसी) का नेशनल कमिटीका अध्यक्ष वाङ हुनिङसँग भेटवार्ता गरेका छन्।

सीपीपीसीसी नेतृत्वले नेपालको विधायिका तथा परराष्ट्र मन्त्रालयमा सम्पर्क रहेर काम गर्छ। आर्थिक कनेक्टिभिटीका अन्तरदेशीय पहल र रणनीति बनाउन यसको भूमिका महत्वपूर्ण मानिन्छ।

परराष्ट्रमन्त्री खनालका अनुसार भेटमा विकास सहयोग, व्यापार, लगानी, पर्यटन केन्द्रित छलफल भएको बताएको छ। उनका अनुसार भेटमा राजनीतिक आदान–प्रदान, नागरिक–नागरिक स्तरको सम्बन्ध मजबुत बनाउने विषयमा पनि छलफल भएको थियो।

‘दुई देशबीचको लामो समयदेखिको मित्रतालाई थप प्रगाढ बनाउने उहाँ (वाङ हुनिङ) को दृढ प्रतिबद्धताको सराहना गर्दछु’, बैठकपछि परराष्ट्रमन्त्री खनालले भनेका छन्।

हिजो सोमबार उनले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य तथा विदेशमन्त्री वाङ यीसँग दुई पक्षीय भेटवार्ता गरेका थिए। त्योभन्दा अगाडि उनले चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङसँग पनि भेटवार्ता गरेका थिए।
मन्त्री खनाल असार ३ गते स्वदेश फर्किनेछन्।