ठगी मुद्दामा पक्राउ गरिएका सेफ सन्तोष साह रिहा भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन कुमार भट्टराईले मंगलबार बिहान दिएको जानकारीअनुसार पीडित पक्षलाई चेकबमोजिमको रकम दिएपछि साहलाई सोमबार बेलुका रिहा गरिएको हो।
‘पछिल्लो ठगी कसुरमा उनले साढे ४ लाख रुपैयाँ पीडितलाई बुझाएपछि साहलाई हाजिरी जमानीमा रिहा गरिएको हो’, उनले भने।
काठमाडौँको गैरीधारामा रेस्टुरेन्ट किन्दा उनले शकुन्तला अधिकारी थापालाई रकम नभएको बैंक खाताको चेक दिएको आरोप थियो। सोही आरोपमा थापाले २५ लाख रुपैयाँको चेक अनादर मुद्दा दायर गरेकी थिइन्।
जुन मुद्दामा अदालतले साहलाई दोषी ठहर गर्दै २५ लाख रुपैयाँ बिगो भराउने फैसला गत वर्ष जेठमै गरेको थियो। उनलाई जिल्ला अदालत काठमाडौँले एक महिना कैद र एक लाख २५ हजार रुपैयाँ जरिवाना पनि सुनाएको थियो।