एमालेको प्रचारशैलीबारे पोखरेलको समीक्षा

 संवाददाता    २०८३, १ असार सोमबार १६:०७     11 जनाले पढ़िसके



Spread the love

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सूचना प्रविधिको तिब्र विकाससँगै पार्टीको प्रचार शैली रक्षात्मक (डिफेन्सिभ) बन्दै गएको स्वीकार गरेका छन्।

सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्। महासचिव पोखरेलले विगतमा प्रचारको काममा प्रभावकारी देखिएको पार्टी हालका दिनमा केही पछि परेको उल्लेख गरे।

पार्टीका कार्यकर्ताहरू प्रविधिको प्रयोगकर्ता मात्र भएको तर दक्ष हुन नसकेको उनको ठम्याइ छ। उनले सामग्री निर्माण (कन्टेन्ट क्रिएसन) र लोकप्रिय डिजिटल प्लेटफर्महरूको अधिकतम उपयोगमा देखिएको खाडललाई पुर्नुपर्नेमा जोड दिए। पार्टीको प्रचार संयन्त्रलाई आधुनिक र प्रविधिमैत्री बनाउन विशेष ध्यान दिनुपर्ने उल्लेख गरे।

उनले भने, ‘पहिले हामी प्रचारको काममा प्रभावकारी थियौं, तर पछिल्लो समय प्रचारको काममा हामी अलिकति रक्षात्मक (डिफेन्सिभ) भएका छौँ। यसको कारण के हो भन्ने कुरा पनि स्पष्ट नै छ। खासगरी सूचना प्रविधिको जति विकास हुँदै गएको छ, सूचना प्रविधिलाई प्रभावकारी रूपमा प्रयोग गर्ने नयाँ पुस्ताको प्रभाव पनि त्यति नै बढ्दै गएको छ। नयाँ पुस्ताको सहभागिता हामीसँग तुलनात्मक रूपमा कम छ। जससँग त्यो पुस्ताको सहभागिता बढी छ, ऊ बढी प्रभावकारी छ। जससँग कम छ, ऊ कम प्रभावकारी छ। सोझो अर्थमा बुझ्ने हो भने, प्रविधिलाई दक्षतापूर्वक प्रयोग गर्नसक्ने नयाँ पुस्ताको सहभागिता हामीसँग अपेक्षाकृत कम छ।’

यसअघि प्रचार विभागको नेतृत्वले गरेका कामहरूको समीक्षा गर्दै आगामी दिनमा नयाँ रणनीतिका साथ अघि बढ्न उनले निर्देशन समेत दिए।

सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्‍यो
महासचिव पोखरेलले सरकारका गतिविधिले मुलुकको स्वाधीनता, संसदीय प्रणाली र लोकतान्त्रिक भविष्यमाथि गम्भीर चुनौती खडा गरेको आरोप लगाए।

उनले चुनावपछि राजनीतिक अस्थिरता अन्त्य हुने अपेक्षा गरिए पनि सरकारका कार्यशैलीले जनमानसमा थप सन्देह र आशंका पैदा गरेको बताए।

महासचिव पोखरेलले प्रधानमन्त्रीले देशको स्वाधीनता र राष्ट्रिय हितको पक्षमा दृढतापूर्वक पैरवी गर्न नसकेको टिप्पणी गरे। वर्षौंदेखि नेपालीले भोगचलन गर्दै आएको जमिनका विषयमा स्थानीयको असन्तोषलाई सम्बोधन गर्नुको साटो सरकारले छिमेकीकै पक्षपोषण गरेको उनको तर्क छ।

सरकारले अविच्छिन्न उत्तराधिकारवाला संस्थाको लोकतान्त्रिक मान्यतालाई बेवास्ता गरेको पोखरेलले बताए। अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्तिहरू एकमुष्ठ खारेज गर्ने कदमले संसदीय प्रणालीको मर्ममाथि प्रहार गरेको उनको भनाइ छ। वर्तमान सरकारले संविधान, कानून र स्थापित परम्पराहरूको पालना नगरेको उनले जिकिर गरे।

सरकारले अपनाएको नियुक्ति र छनोटको विधिले योग्य परिणाम दिनेमा कुनै सुनिश्चितता नरहेको भन्दै उनले सत्ता साझेदार दलहरूभित्रै भइरहेका सार्वजनिक अभिव्यक्तिहरूले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएको उल्लेख गरे।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन एमाले सधैं तयार रहेको उल्लेख गर्दै महासचिव पोखरेलले प्रणालीलाई नै कमजोर बनाउने कुनैपनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे।

महासचिव पोखरेलले प्रचार तथा प्रकाशन विभागको नवनियुक्त प्रमुख निरज आचार्यलाई पदभार हस्तान्तरण गरेका छन्।