नौ मन्त्रालयको बजेट बाँडफाँटबारे प्रतिनिधिसभामा छलफल

 संवाददाता    २०८३, १ असार सोमबार १३:४७     29 जनाले पढ़िसके



Spread the love

प्रतिनिधि सभामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेश गरेको आगामी आर्थिक वर्षको बजेट अर्थात् विनियोजन विधेयक, २०८३ माथि छलफल सुरु भएको छ।

सोमबार प्रतिनिधि सभाको बैठकमा विभिन्न नौ मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल सुरु भएको हो। युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा सञ्चार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेटमाथि छलफल सुरु भएको छ।

त्यस्तै, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि पनि छलफल सुरु भएको हो।

सभामुख डोलप्रसाद अर्यालले बजेटमा खर्च कटौतीको प्रस्ताव राख्ने सांसदलाई आफ्नो प्रस्तावसहित उल्लिखित विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिन समय दिएका छन्।

अर्थमन्त्री डा. वाग्लेले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गरेका थिए। यसअघि प्रतिनिधि सभामा बजेटमाथि सामान्य छलफल र अर्थमन्त्रीबाट जवाफ दिने कार्यक्रम सम्पन्न भइसकेको छ।