काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट उठीबास लगाइएका सुकुमबासीले भोकै बस्नुपरेको भन्दै आक्रोश पोख्न थालेका छन् । आफूहरूको उचित व्यवस्थापन नभएको भन्दै उनीहरूले सरकारलाई एक साताको अल्टिमेटमसहित ज्ञापनपत्रसमेत बुझाएका छन् ।
थापाथली, गैरीगाउँ, शान्तिनगर र जडिबुटीलगायतका क्षेत्रबाट हटाइएका उनीहरूलाई हाल कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग (होल्डिङ सेन्टर) मा राखिएको छ । तर, होल्डिङ सेन्टरको अवस्था अत्यन्तै कष्टकर र अमानवीय रहेको पीडितहरूको गुनासो छ ।
पीडितहरूले होल्डिङ सेन्टरमा आधारभूत सुविधा समेत नभएको गुनासो गरेका छन् । उनीहरू थाल ठटाउँदै आन्दोलनमा उत्रिएका छन् ।
एक महिला भन्छिन्- पाल्न नसक्ने सरकारले किन डोजर लगाएर हामीलाई बिल्लीबाठ बनायो । १० बजिसक्यो अहिलेसम्म खान पाएको छैन । बच्चाहरू स्कुल जाने बेला भयो । थाल बोकेर भात खोज्छन् हामीले कहाँबाट ल्याएर दिने ?
अर्की महिला भन्छिन्- यो सरकारले हामी गरिबको पेटमा लात हान्यो ।
आफूहरू पुन: पहिले बसेको ठाउँमै फर्किने उनीहरूको भनाइ छ ।
सुकुमबासीले ज्ञापन पत्रमा भनेका छन्- ‘हामीलाई थुनुवालाई जस्तै राखिएको छ ।’
सेन्टरमा रहेका बालबालिका, सुत्केरी, ज्येष्ठ नागरिक र दीर्घरोगीले उचित स्याहार नपाएको गोपनीयताको अभावमा मानसिक तनावमा रहेको उनीहरूको गुनासो छ ।
पीडितहरूले आवासमात्र नभई संविधान प्रदत्त ‘भू-स्वामित्व सहितको अधिकार’ मागेका छन् । उनीहरूको मुख्य माग यस्ता छन्-
१. वैकल्पिक व्यवस्था बिना गरिएको उठिबासलाई गैरकानुनी मान्दै तत्काल रोकिनुपर्ने ।
२. स्थायी भू-स्वामित्व (लालपुर्जा) सुनिश्चित गरिनुपर्ने ।
३. उठीबासका क्रममा नष्ट भएका घरटहरा र धनमालको उचित क्षतिपूर्ति दिनुपर्ने ।
४. सुकुम्वासीलाई अतिक्रमणकारी वा माफियाजस्ता अपमानजनक शब्द प्रयोग गर्न बन्द गरिनुपर्ने ।
५. होल्डिङ सेन्टरमा रहेकाहरूको स्वास्थ्य, शिक्षा र सुरक्षाको तत्काल ग्यारेन्टी गरिनुपर्ने ।
एक साताभित्र सरकारले ठोस निर्णय र पुन:स्थापनाको प्रक्रिया अघि नबढाए आफूहरू पुनः पुरानै बासस्थानमा फर्कन बाध्य हुने चेतावनी दिएका छन् ।