एमालेको दाबी: सबै घटनाको यथार्थ बाहिर ल्याउन तयार छौँ

 संवाददाता    २०८३, २९ जेष्ठ शुक्रबार १२:०३     29 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेका सांसद गुरु बरालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई विगतका सबै घटनाहरूलाई दूधको दूध पानीको पानी गरेर छुट्टाउनको प्रतिपक्ष तयार रहेको जवाफ दिएका छन्। हिजो प्रतिनिधि सभाको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले विपक्षीको काण्ड पनि आफूलाई थाहा भएको भन्दै खोल्ने चेतावनी दिएका थिए।

त्यसबारे उनले भने, ‘देशको अर्थमन्त्रीले आफ्नो विचार अभिव्यक्ति गरिरहँदा विगतको इतिहासलाई केलाएर उहाँले केही सन्दर्भहरू उठाउनुभयो। विगतका सबै घटनाहरूलाई दूधको दूध पानीको पानी गरेर छुट्टाउनको लागि यो प्रतिपक्ष हाजिर छ, खडा छ र त्यसले सत्यापनलाई प्रमाणित गर्न सक्छ, कमजोरी भए सच्याउन चाहन्छ।’

उनले विगतको कुरालाई देखाएर अर्थमन्त्रीले बजेट छेडखानी गर्न नपाउने बताए।

उनले थपे, ‘विगतको कुरालाई देखाएर अहिले अर्थमन्त्रीले बजेटको दररेटमाथि छेडखानी भएर राजश्वलाई तलमाथि पार्नुभएको छ, यो चिजबाट उम्किन पाइँदैन। यस दिशातर्फ अर्थमन्त्रीको अविलम्ब ध्यान सभामुख मार्फत आकृष्ट गरियोस्। एउटा संसदीय समिति मार्फत मात्रै यो विषयलाई छानबिन गरेर निरूपित गर्नुपर्छ, अन्यथा यस खालका चलनहरू चलिरहनेछन्, गलत चिजहरूको नजिर र अभ्यास बसिरहनेछ। यसलाई सदाको लागि अन्त्य गर्नको लागि संसदीय छानबिन समितिको नितान्त जरुरी छ।’