सिरहामा एसईई र कक्षा १२ को परीक्षामा विद्यार्थीबाट जफत गरिएका मोबाइल र स्मार्ट वाच नष्ट गरिएको विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेशसहित कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बुधबार परीक्षा हलभित्र भेटिएका मोबाइल र सोको डाटा जफत गरी नष्ट गर्ने कार्य नगर्नू नगराउनू भनी गृहमन्त्रालयका नाममा अन्तरिम आदेश दिएको हो ।
अधिवक्ता अनिलकुमार साहसमेतले गैरकानुनीरूपमा मोबाइल नष्ट गरिएको जिकिरसहित सर्वोच्चमा रिट दायर गरेका थिए । परीक्षा सकिएपछि जरिवाना लिएर वा अभिभावकको रोहबरमा मोबाइल फिर्ता गर्नुपर्नेमा स्वेच्छाचारी ढङ्गले नष्ट गरिएको रिटमा उल्लेख छ ।
सर्वोच्चले उक्त विषयमा लिखित जबाफ पेस गर्न समेत विपक्षीका नाममा आदेश दिएको छ ।
गत चैतमा सम्पन्न एसइई परीक्षाका क्रममा सिरहाका विभिन्न केन्द्रबाट आइफोन, एन्ड्रोइड मोबाइल र स्मार्ट वाचसमेत गरी ५ सयभन्दा बढी जफत गरिएको थियो ।
जिल्ला परीक्षा समन्वय समिति सिरहाको निर्णय र मधेश प्रदेशका शिक्षामन्त्रीको घोषणापछि प्रहरीले पानी भरिएको ड्रममा डुबाएर मोबाइल सामूहिक रूपमा नष्ट गरिएको भिडियो सार्वजनिक भएपछि चौतर्फी आलोचना भइरहेको छ ।
जफत गरिएका मोबाइल र घडीको बजार मूल्य तथा व्यक्तिगत डेटाको क्षतिका आधारमा पीडित विद्यार्थी र अभिभावकलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि रिटमा माग गरिएको छ ।