फिफा विश्कप २०२६ सुरु हुन ४ दिन मात्रै बाँकी छ। अमेरिका, मेक्सिको र क्यानडामा आयोजित ४८ टोली सहभागी प्रतियोगिता एकदमै फरक र विशेष संस्करण हुने छ।
प्रतियोगिताको इतिहासमै सबैभन्दा धेरै टोलीको सहभागितादेखि तीनवटा आयोजक राष्ट्रसम्म, ३९ दिन लामो यो प्रतियोगिता फुटबलको सबैभन्दा भव्य संस्करण बन्ने अपेक्षा गरिएको छ।
साथै, समर्थकहरूको खेल हेर्ने अनुभवलाई अझ राम्रो बनाउन र खेलाडीहरूका लागि खेललाई अझ आधुनिक बनाउन विश्वकप २०२६ मा प्रविधिलाई खेलसँग जोडिनेछ।
यस विश्वकपमा के–के छन् नयाँ कुरा ?
१. सेन्सर जडित म्याच बल
‘ट्रियोन्डा’ – स्पेनी भाषामा जसको अर्थ ‘तीन छाल’ हुन्छ – विश्वकप २०२६ को आधिकारिक म्याच बल हो, जुन संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा खेलाइनेछ। यो एडिडासको बलमा के विशेषता छ ?
बलभित्र एउटा सानो इनर्सियल मेजरमेन्ट युनिट (आईएमयू) सेन्सर चिप जडान गरिएको छ, जसले बलको प्रत्येक चालबारे विस्तृत जानकारी प्रदान गर्छ। यो सेन्सरले प्रति सेकेन्ड ५०० पटक तथ्याङ्क सङ्कलन गर्दै बलको प्रवेग (acceleration) तथा तीन आयामको सूक्ष्म गतिलाई ट्र्याक गर्छ।
“यो प्रविधिले भिडियो सहायक रेफ्री (भिएआर) प्रणालीमा वास्तविक समयमा सटीक तथ्याङ्क पठाउँछ, जसले अफसाइड घटनासहित विभिन्न निर्णयहरूमा खेल अधिकारीहरूको निर्णय प्रक्रियालाई अझ प्रभावकारी बनाउँछ,” फिफाको विज्ञप्तिमा भनिएको छ।
सरल भाषामा भन्नुपर्दा, फिफाका अनुसन्धान तथा मापदण्ड प्रमुख निकोलस इभान्सले बीबीसीको एक भिडियोमा व्याख्या गरेअनुसार, यो सेन्सरले बलले त्रिआयामिक (तीनवटा आधारभूत अवस्थाहरू लम्बाइ, चौडाइ र उचाइलाई) मापन गर्छ।
२. एआईको प्रयोगमा थ्री–डी खेलाडी अवतार
प्रविधिको प्रयोग केवल म्याच बलमै सीमित हुनेछैन। खेलाडीहरू पनि यसको एक हिस्सा हुनेछन्।
फिफा र विश्वकै सबैभन्दा ठूलो कम्प्युटर निर्माता लेनोभो बीचको साझेदारीअन्तर्गत यस वर्षको सुरुआतमै एआई आधारित विभिन्न टेक्नोलोजिकल इनोभेसनहरु सार्वजनिक गरिएको थियो। तीमध्ये एआईको प्रयोगबाट खेलाडीको थ्री डी अवतार पनि एक हो।
विश्वकपमा सहभागी खेलाडीहरूको डिजिटल स्क्यान गरिनेछ, जसबाट उनीहरूको अत्यन्तै सटीक थ्री डि मोडेल तयार गरिनेछ।
प्रत्येक स्क्यानमा करिब एक सेकेन्ड लाग्नेछ र फिफाका अनुसार यसले “शरीरका विभिन्न अङ्गहरूको अत्यन्त सटीक मापन सङ्कलन गर्नेछ, जसले तीव्र गतिमा वा दृश्य अवरुद्ध भएका अवस्थामा पनि खेलाडीहरूलाई भरपर्दो रूपमा ट्र्याक गर्न प्रणालीलाई सक्षम बनाउनेछ।”
“एआई जडित थ्री डी खेलाडी अवतार अर्ध–स्वचालित अफसाइड प्रविधिमा एउटा महत्वपूर्ण विकास हो,” जनवरीमा जारी फिफाको विज्ञप्तिमा उल्लेख गरिएको थियो।
“यसका साथै, यी थ्री डि मोडेलहरूलाई आधिकारिक प्रसारणमा पनि समावेश गरिनेछ, जसले भिएआर प्रणालीबाट निर्धारण भएका अफसाइड निर्णयहरूलाई रंगशालामा उपस्थित समर्थक तथा विश्वभरका दर्शकसमक्ष अझ यथार्थपरक र आकर्षक ढङ्गले प्रस्तुत गर्न मद्दत गर्नेछ,” विज्ञप्तिमा थप भनिएको थियो।
विश्वभरका प्रमुख फुटबल लिगहरूमा परीक्षण भइसकेका रेफ्री बडी क्यामेराहरू पनि सबै १०४ खेलमा प्रयोग गरिनेछन्। यसले समर्थकहरूलाई मैदानभित्र उपस्थित भएझैँ खेल हेर्ने अनुभव प्रदान गर्नेछ।
३. रोबोट कुकुर
विश्वकपका क्रममा अपराध नियन्त्रणमा सहयोग गर्न मेक्सिकन प्रहरीले कुकुरहरूको सहारा लिनेछ। तर ती जीवित कुकुर होइनन्, रोबोटिक कुकुर हुनेछन्।
चार खुट्टे यी रोबोटहरूलाई जोखिमपूर्ण क्षेत्रमा प्रवेश गरी प्रत्यक्ष भिडियो प्रसारण गर्न डिजाइन गरिएको हो, जसलाई सुरक्षा निकायहरूले हेरेर आवश्यक कारबाही गर्न सक्नेछन्।
ग्वाडालुपे नगर परिषद्ले २५ लाख पेसो (१ लाख ४५ हजार अमेरिकी डलर) खर्चेर खरिद गरेका यी जनावरजस्ता रोबोटहरू – जुन मोन्टेरे महानगरीय क्षेत्रको हिस्सा हो – “कुनै झडप वा अप्रिय घटना भएमा” परिचालन गरिनेछन्, ग्वाडालुपेका मेयर हेक्टर गार्सियाले बताएका छन्।
उनका अनुसार रोबोट कुकुरहरूको उद्देश्य “प्रहरी अधिकारीहरूलाई प्रारम्भिक हस्तक्षेपमा सहयोग गर्नु तथा उनीहरूको शारीरिक सुरक्षाको रक्षा गर्नु” हो।
४. एडभान्स सेमी–अटोमेटेड अफसाइड प्रविधि
अफसाइडको झण्डा ढिलो उठाएको भन्दै लाइनसम्यानसँग दिक्क हुनुहुन्छ ? अब त्यो समस्या अन्त्य हुन सक्छ।
फिफाले उन्नत एडभान्स सेमी–अटोमेटेड अफसाइड प्रविधि लागू गरेको छ, जसले खेलको कुनै चाल पूरा हुन प्रतीक्षा गर्नुको सट्टा अधिकारीहरूलाई छिटो निर्णय लिन सक्षम बनाउनेछ।
अर्ध–स्वचालित अफसाइड प्रविधि लगभग वास्तविक समयमा अफसाइड पहिचान गर्न डिजाइन गरिएको हो।
यसअघि यो प्रणालीले खेलाडी ५० सेन्टिमिटरभन्दा बढी अफसाइडमा भए मात्र अधिकारीलाई सूचना दिन्थ्यो। तर नयाँ संस्करणमा खेलाडी १० सेन्टिमिटरभन्दा बढी अफसाइडमा भए पनि सूचना दिने क्षमता थपिएको छ।
अधिकारीहरूले भिएआरमार्फत सूचना आउन प्रतीक्षा गर्नुपर्ने छैन। उनीहरूको कानमा रहेको इयरपिसमा प्रत्यक्ष ध्वनि चेतावनी प्राप्त हुनेछ।
तर यस प्रविधिका केही सीमितताहरू पनि छन्। यो केवल स्थितिगत अफसाइडका लागि प्रयोग गर्न सकिन्छ, व्यक्तिपरक निर्णयका लागि होइन। अत्यन्त नजिकका अवस्थाहरू छुट्याउन पनि यसले सक्दैन।
साथै, कुनै खेलाडीले खेलमा हस्तक्षेप गरिरहेको थियो वा थिएन भन्ने व्याख्या गर्न नसक्ने तथा खेलाडीहरू जमिनमा लडेको अवस्थामा वा शरीरहरू अत्यन्त नजिक भएको अवस्थामा निर्णय दिन कठिन हुन सक्छ।
तथापि, फिफाको विश्वास छ कि यस नयाँ प्रविधिले दर्शक तथा खेलाडीहरूको निराशा कम गर्नुका साथै अफसाइडको झण्डा उठ्नुपर्ने अवस्थामा अनावश्यक रूपमा खेल जारी रहँदा हुन सक्ने चोटपटकको जोखिम पनि घटाउनेछ।
५. हाइड्रेसन ब्रेक
खेलाडीहरूको स्वास्थ्यलाई प्राथमिकता दिँदै फिफाले विश्वकपमा प्रत्येक हाफमा तीन मिनेटको हाइड्रेसन ब्रेक अनिवार्य गरेको छ।
यसका लागि कुनै मौसम वा तापक्रम सम्बन्धी सर्त लागू गरिएको छैन। विश्राम प्रत्येक हाफको मध्य भागतिर (२२औँ मिनेटतिर) लिइनेछ।
“हरेक खेलमा, खेल जहाँसुकै खेलिए पनि, रंगशालामा छाना भए पनि नभए पनि, तापक्रम जस्तोसुकै भए पनि, दुवै हाफमा तीन मिनेटको हाइड्रेसन ब्रेक हुनेछ। सिटी बजेदेखि अर्को सिटी बजेसम्म तीन मिनेटको विश्राम हुनेछ,” फिफा विश्वकप २०२६ (संयुक्त राज्य अमेरिका)का प्रमुख प्रतियोगिता अधिकारी मानोलो जुबिरिया ले बताएका छन्।
“स्वाभाविक रूपमा, यदि २०औँ वा २१औँ मिनेटतिर कुनै चोटपटकका कारण खेल रोकिएको छ र त्यो अवस्था जारी छ भने, त्यसलाई रेफ्रीसँग समन्वय गरेर तत्काल व्यवस्थापन गरिनेछ,” उनले थपे।