दलबलसहित कमला पुल पुगेका मन्त्री लम्साल स्थानीयको विरोधमा परे

 संवाददाता    २०८३, २४ जेष्ठ आईतवार ११:०६     14 जनाले पढ़िसके



Spread the love

संघीय पूर्वाधार विकास तथा शहरी मन्त्री सुनिल लम्साल शनिबार धनुषाको कमला नदीमा निर्माणाधीन पुलको निरीक्षण गर्न पुगेका बेला स्थानीयको घेराउमा परे । मन्त्री लम्साल नेतृत्वको टोली निरीक्षण सकेर कुनै स्पष्ट प्रतिबद्धता नदिई फर्किन खोजेपछि आक्रोशित स्थानीय अगुवाले उनीसँगै हिँडेर सरकारविरुद्ध नारावाजी गरे ।

पूर्व–पश्चिम यात्रामा रहेका मन्त्री लम्साल कमला पुलको अवस्थाबारे जानकारी लिन पुगेका थिए । उनीसँग प्रतिनिधिसभा सदस्य बब्लु गुप्तालगायत जनप्रतिनिधि र सरकारी अधिकारीहरूको टोली पनि थियो । तर, वर्षौंदेखि पुलको समस्या भोग्दै आएका स्थानीयले मन्त्रीबाट ठोस जवाफको अपेक्षा गरेका थिए ।

सरकारले ल्याएको बजेटमा पनि कमला पुल प्राथमिकतामा नपर्दा स्थानीय अक्रोसित भएका छन् । हुलाकी राजमार्गको लाइफलाइन मानिने कमला पुल पूर्वी धनुषा र सिरहाको सदरमुकाम समेत जोडिने गर्दछ ।

स्थानीयका अनुसार मन्त्री निरीक्षण गरेर कुनै सम्बोधन नगरी तथा सञ्चारकर्मीलाई समेत प्रतिक्रिया नदिई फर्किन लागेपछि असन्तुष्टि चुलिएको थियो । मन्त्री सवार गाडी स्थानीयले घेरेपछि उनी गाडीबाट ओर्लिन बाध्य भएका थिए ।

त्यसक्रममा स्थानीयले ‘पुल कहिले सम्पन्न हुन्छ ?’ भन्ने प्रश्नको स्पष्ट जवाफ मागेका थिए । मन्त्री लम्सालले तत्कालै निर्माण कम्पनीका प्रतिनिधिसँग सोधपुछ गरेका थिए। निर्माण कम्पनी लुम्बिनी बिल्डर्स जेभीका प्रतिनिधिले १५ दिनभित्र आवतजावत गर्न मिल्ने गरी पुल सञ्चालनमा ल्याउने आश्वासन दिएपछि मात्रै स्थानीयले मन्त्रीको टोलीलाई जान दिएका थिए ।

स्थानीयका अनुसार मन्त्रीलाई घेर्नुअघि निर्माण कम्पनीका सञ्चालक विष्णु शर्मालाई समेत स्थानीयले जवाफदेही बनाउन खोजेका थिए ।

कमला पुलको निर्माण ढिलाइको विषय नयाँ भने होइन । २०६८ मंसिरमा २४ करोड ९१ लाख रुपैयाँ लागतमा ठेक्का लागेको ४ सय ७० मिटर लामो पुल साढे तीन वर्षमै सम्पन्न हुनुपर्ने थियो । तर ठेक्का पाएको पप्पु–लुम्बिनी जेभीले समयमै काम सम्पन्न गर्न सकेन । पटक–पटक म्याद थप्दा पनि निर्माण सम्पन्न नभएपछि स्थानीयमा निराशा बढ्दै गयो ।

हुलाकी सडक संघर्ष समितिको आन्दोलन र रिले अनशनपछि सरकारले पप्पु कन्स्ट्रक्सनबाट ठेक्का खोसेर २०७६ असोजमा लुम्बिनी बिल्डर्सलाई जिम्मा दिएको थियो । नयाँ कम्पनीले काम सकेर उद्घाटनको तयारी गरिरहेका बेला २०७८ असार १७ गते सामान्य बाढीकै दबाब थेग्न नसकेर पुल भासिएको थियो ।

त्यसयता पुनर्निर्माण भइरहेको भए पनि पाँच वर्ष बित्न लाग्दा समेत काम पूरा हुन सकेको छैन । पुलको डिजाइनमै त्रुटि रहेको आरोप उठ्दै आएको छ भने यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरिरहेको छ ।

स्थानीय अगुवाहरूले पुरानै संरचना सुधार्नेभन्दा नयाँ डिजाइनसहित नयाँ पुल निर्माण गर्नुपर्ने माग राख्दै आएका छन् । तर सरकार र निर्माण कम्पनीबाट पटक–पटक आश्वासन मात्र आउने र काम नदेखिने अवस्थाले स्थानीयको आक्रोश बढ्दै गएको छ ।

त्यही आक्रोश शनिबार मन्त्री लम्सालको निरीक्षण भ्रमणमा प्रत्यक्ष देखियो । १५ वर्षदेखि अलपत्र रहेको कमला पुलका कारण दैनिक सास्ती खेपिरहेका स्थानीयले अब आश्वासनभन्दा काम चाहिएको भन्दै मन्त्रीलाई घेराउ गरेका हुन् । मन्त्रीको टोलीले १५ दिनभित्र पुल सञ्चालनमा ल्याउने प्रतिबद्धता दोहोर्याए पनि स्थानीय भने काम सम्पन्न नभएसम्म विश्वास गर्न तयार देखिएका छैनन् ।