२०२६ फिफा विश्वकपका लागि ४८ वटै राष्ट्रले आफ्ना अन्तिम खेलाडीहरूको सूची सार्वजनिक गरेका छन् ।
खेल सुरु हुन ८ दिन बाँकी छ । क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाका मैदानहरूमा हुने १०४ वटा खेलहरूका लागि ४८ टोलीका जम्मा १,२४८ खेलाडीहरू तयार भएका छन् ।
यसपटकको टोलीमा ३५७ खेलाडीहरू यस्ता छन्, जो यसअघि पनि विश्वकपको अनुभव बटुलिसकेका पुराना अनुहार हुन् ।
तर, ८९१ खेलाडीहरू पहिलो पटक विश्वकपको मञ्चमा पाइला राख्दैछन् । यसले विश्व फुटबलमा अनुभवी पुराना पुस्ता र ऊर्जाशील नयाँ पुस्ताबीचको सुन्दर सन्तुलन देखाउँछ ।
खेलाडीहरूको उमेरमा पनि निकै ठूलो अन्तर देखिएको छ । स्कटल्याण्डका गोलकिपर क्रेग गोर्डन (४३ वर्ष १६२ दिन) यस विश्वकपका सबैभन्दा पाका खेलाडी हुन् भने मेक्सिकोका गिल्बर्टो मोरा (१७ वर्ष २४० दिन) सबैभन्दा कान्छा खेलाडी हुन् ।
२० वर्ष मुनिका २२ जना युवा प्रतिभाहरू र ४० वर्ष माथिका ७ जना भेट्रान खेलाडीहरू यसपालि मैदानमा देखिनेछन् ।
साथै, पहिले नै विश्वकप जितिसकेका २२ जना च्याम्पियन खेलाडीहरू फेरि एकपटक आफ्नो ओज कायम राख्न फर्किएका छन् ।
यसपटक केप भर्डे, कुरासाओ, जोर्डन र उज्वेकिस्तान जस्ता देशहरूले पहिलोपटक विश्वकपमा सहभागिता जनाउँदैछन् ।
उज्वेकिस्तानको यो ऐतिहासिक सहभागितामा म्यानचेस्टर सिटीका युवास्टार अब्दुकदिर खुसानोभ जस्ता खेलाडीहरूले आफ्नो खेल कौसल देखाउँदैछन् ।
फ्रान्सका वारेन जाइरे–इमरी र मोरक्कोका बिलाल एल खानौस जस्ता युवा प्रतीभाहरू पनि यसपटक विश्वको नजरमा हुनेछन् ।
यस विश्वकपको ठूलो आकर्षण भनेकै लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो र गुइलेर्मो ओचोआ हुन् । यी तीन खेलाडीहरूले छैटौँ विश्वकप खेल्दैछन् ।
आधुनिक फुटबल कति व्यापक छ भन्ने कुरा खेलाडीहरू आबद्ध क्लबहरूले पनि देखाउँछ । ७१ देशका ४४९ वटा फरक–फरक क्लबका खेलाडीहरू यस विश्वकपमा खेल्दैछन् ।
कतार र साउदी अरब जस्ता देशका लगभग सबै खेलाडीहरू आफ्नै देशका लिगमा खेल्छन् भने केप भर्डे, आइभरी कोस्ट र उरुग्वे जस्ता देशका सबै खेलाडीहरू विदेशी लिगहरूमा व्यावसायिक फुटबल खेल्नेहरू छन् ।
घानाका प्रशिक्षक कार्लोस क्विरोजले लगातार पाँचौँ पटक विश्वकपमा टोलीको नेतृत्व गर्दैछन् । यसअघि उनले पोर्चुगल र इरानलाई प्रशिक्षण दिइसकेका छन् ।
उनी लगातार ५ वटा विश्वकपमा प्रशिक्षक रहने इतिहासकै दोस्रो व्यक्ति बनेका छन् ।