विश्व फुटबलको सर्वोच्च संस्था फिफाले हप्ता दिन टाढा रहेको विश्वकपसँगै केही नयाँ नियम अघि सार्ने भएको छ।
अमेरिका, क्यानडा र मेक्सिकोमा हुन लागेको विश्वकपबाट लागू हुने यो नियमले खेलका दौडान समय खेर फाल्ने प्रवृत्तिलाई रोक्ने देखिएको हो।
अघिल्ला विश्वकप खेलहरूमा अग्रता बनाएका टोलीहरूले समय खेर फाल्ने बहाना बनाउने गरेका थिए। खेलाडीहरूले पनि खराब ट्याकलविना पनि चोटको बहानामा समय बिताउँदै आएका थिए।
तर परिवर्तित नियमले फुटबलमा देखिएका यस्ता समस्याहरूलाई समाधान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। फुटबलका कानुन निर्माताहरूले खेलहरू कसरी सञ्चालन गर्ने भनेर नयाँ आकार दिन सेट गरेका नयाँ नियमहरूलाई अनुमोदन गरेका छन्। जहाँ सेट पिसदेखि खेलाडीको व्यवहार र भीएआर (भिडिओ असिस्टेन्ट रेफ्री) हस्तक्षेपसम्म सबै कुरामा परिवर्तन भएका छन्।
अन्तर्राष्ट्रिय फुटबल संघ (आईएफएबी) ले जुन ११ देखि मेक्सिको, अमेरिका र क्यानडामा हुने विश्वकपअघि परिवर्तित नयाँ नियमबारे पुष्टि गरेको छ। विश्वकपअघि आएको नयाँ नियमले खेलमा निष्पक्षता सुधार, भेदभावलाई सम्बोधर्न, समयको बर्बादी कम गर्न र रेफ्रीको निर्णयमा स्थिरता ल्याउने उद्देश्य राखेको छ।
विश्वकपमा सहभागी ४८ राष्ट्रिय टोलीका प्रशिक्षकहरूलाई नियम परिवर्तनबारे एकदिने कार्यशाला गरिएको छ। विश्वकपको हरेक हाफमा २२ मिनेटपछि तीन मिनेटको कुलिङ ब्रेक पनि समावेश छ।
यस्ता छन् नयाँ नियम
झडपको समयमा मुख छोपे रातो कार्ड
खेलका दौडान मैदानमा झडपको अवस्था सृजना भएमा कुनै पनि खेलाडीले आफ्नो मुख छोप्न पाउनेछैन। यस्तो अवस्थामा कुनै पनि खेलाडीले मुख छोपेमा रातो कार्ड पाउन सक्छ।
खेलाडीहरूले सामान्य रुपमा कुराकानी गर्दा मुख छोप्न सक्नेछन्। तर असहमतिको समयमा यस्तो कार्यलाई गैरकानुनी मानिनेछ। यस्तो समयमा मुख छोपेमा भेदभावपूर्ण टिप्पणी गरेको आरोप लाग्न सक्नेछ।
त्यसैले यस्तो समयमा खेलाडीले मुख छोप्न पाउनेछैनन्। खेलअघि, खेलको समयमा र पछि खेलाडीहरूले कुराकानी गर्नु सामान्य हो। तर जब झगडाको अवस्था सिर्जना हुन्छ, त्यो समयमा मुख छोप्नु गलत हुनेछ।
म्याच अफिसियलको निर्णयमा विरोध गर्दै मैदान छाड्न रोक
आईएफएबीले रेफ्रीहरूलाई खेल अधिकारीको निर्णयको विरोधमा मैदान छाड्ने कुनै पनि खेलाडीलाई रातो कार्ड देखाउने अधिकार दिएको छ।
अथवा, खेलाडीलाई मैदान छोड्न उक्साउने कुनै पनि टोलीका अफिसियललाई रेड कार्ड दिन रेफ्रीलाई अधिकार दिएको छ। कुनै पनि टोली जसले खेल रद्द गराउँछ, नियमअनुसार त्यो टोलीले खेल गुमाउनेछ।
गत जनवरीमा मोरक्कोविरुद्धको अफ्रिका कप अफ नेसन्सको फाइनलमा आयोजक टोलीलाई विवादास्पद ‘स्टपेज–टाइम पेनाल्टी’ दिइएको बेला सेनेगल मैदानबाट बाहिर निस्केका थिए।
मुख्य प्रशिक्षक पेप थियावले आफ्ना खेलाडीलाई मैदान छाड्न प्रोत्साहित गरेका थिए। जसका कारण १६ मिनेट खेल रोकिएको थियो। सो खेल पेनाल्टीमा सेनेगलले जितेको थियो। तर मार्चमा अफ्रिकाको सेन्ट्रल अफ्रिकी कन्फेडेरेसनले खेलाडीहरूले सामूहिक रुपमा मैदान छाड्नुलाई नियमको उल्लंघनको रुपमा उल्लेख गर्दै नतिजा उल्ट्याएको थियो। जसले गर्दा सेनेगलले ३–० ले खेल गुमाएको थियो।
सेनेगलले यो निर्णयविरुद्ध अहिले अपिल गरिरहेको छ। यही कुरालाई ध्यानमा राख्दै विश्वकपअघि यो नियम ल्याइएको छ।
गलत तरिकाले दिइएको कर्नरको निर्णय उल्टिने
सन् २०१७ मा आईएफएबीले पहिलो पटक कन्फेडेरेसन कपमा भीएआरको प्रयोग गरेको थियो।
त्यो समयमा भीएआरको प्रयोग गोल, पेनाल्टी, रातो कार्ड र गल्तीले दिइएको रातो कार्डको पहिचानमा सीमित थियो। त्यसको ९ वर्षपछि प्रविधिको दायरा अब विस्तार गरिएको छ।
यसअनुसार भीएआरले हस्तक्षेप गर्न सक्ने तीन नयाँ परिस्थितिहरू यस्ता छन्–
पहिलो, स्पष्ट रुपमा गलत दोस्रो पहेँलो कार्डको निर्णय गर्ने। दोस्रो, पहेँलो र रातो कार्डहरूमा यदि दुवै टोलीका अर्को खेलाडीले गलत पहिचान गरेको छ भने र तेस्रो, गलत रुपमा कर्नर किकहरू प्रदान गरिएको छ भने निर्णय उल्टिन सक्नेछ।
समय खेर फाले यस्ता कारबाही
सिजनको सुरुवातमा लागू गरिएको गोलरक्षकका लागि ८ सेकेण्डमा रिलिज नियमलाई आईएफएबीले ठूलो उपलब्धि मानेको छ।
जब रेफ्रीहरूले हात उठाएर पाँच सेकेन्डको चेतावनी प्रदान गर्छन्, त्यो समयमा गोलकिपरहरूले बल छाडेनन् भने अबदेखि महंगो साबित हुन सक्नेछ। आईएफएबीले समय बर्बाद कम गर्ने उद्देश्यले गोल किक र थ्रो–इनहरूमा यो नियम लागू गर्ने भएको छ।
यदि कुनै गोलकिपरले जानाजान खेल सुरु गर्न ढिलाइ गरिरहेको महसुस भयो भने रेफ्रीहरूले त्यस्तै पाँच सेकेन्डको ‘काउन्टडाउन’ सुरु गर्नेछन्। यदि त्यतिन्जेल बल रिलिज भएन भने विपक्षी टोलीलाई कर्नर दिन सकिनेछ। काउन्टडाउन थ्रो–इनहरूमा पनि लागू हुन्छ। त्यहाँ पनि ढिलाइ भएमा सजायस्वरुप विपक्षी टोलीलाई उही ठाउँबाट थ्रो–इन गर्न दिन सक्नेछन्।
यो नियम पिच छाड्ने क्रममा प्रतिस्थापन गरिएका खेलाडीहरूको लागि पनि समयसीमा लागू हुनेछ। खेलाडी परिवर्तन गर्दा पिचबाट बाहिर निस्कन वा परिधिको नजिकको भागमा पुग्न १० सेकेन्डको समय लागू हुनेछ।
रेफ्रीले नियम लागू गर्न पाँच सेकेन्डको काउन्टडाउन देखाउन सक्छन्। यदि यो नियम पालना भएन भने आउँदै गरेको खेलाडीलाई खेलको एक मिनेटपछि मात्र मैदानमा प्रवेश गर्न अनुमति दिइनेछ। घाइते खेलाडीहरूमा भने अपवादहरू लागू हुनेछन्।
मैदानमा उपचारमा ढिलाइ
खेलका दौडान खेलाडीहरूलाई उपचारको आवश्यक पर्नसक्छ। यदि खेलाडी घाइते भए मेडिकल स्टाफबाट मैदानमा उपचार आवश्यक पर्ने खेलाडीले पुनः सुरु भएपछि एक मिनेटका लागि खेल मैदान छाड्नुपर्नेछ।
यसमा केही अपवादबाहेक यो नियम लागू हुने जनाइएको छ। यसमा गोलरक्षकलाई चोट लागेमा, गोलरक्षक र आउटफिल्डर ठोक्किएमा, एउटै टोलीका खेलाडीहरू ठोक्किएमा, टाउकोमा चोट लागेमा भने यो नियम लागू हुनेछैन।
गोलकिपरलाई उपचारका लागि बाहिर जाने प्रवृत्तिलाई सम्बोधन गर्न यो कुनै नयाँ नियम लागू गरिएको छैन। तर यस्तो अवस्थामा दुई टोलीका खेलाडीलाई बेन्चमा जान अनुमति भने दिइएको छैन।
भीएआर र फउल
भिडिओ असिस्टेन्ट रेफ्री (भीएआर)को प्रयोग विशेषगरी कर्नर किक, फ्रि किक र पेनाल्टी बक्स ग्राभलिङका लागि सहयोगी हुनेछ।
यसले फ्रिकिक र कर्नर किकमा भएका निर्णय र कार्डहरूबारे समीक्षा गर्न सहयोग गर्ने विश्वास छ।