पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिको म्याद पाँच दिन थप गरिएको छ।
सरकारले छानबिनका लागि समितिलाई दिएको म्याद सोमबार सकिएको थियो। समितिले सोमबार नै म्याद थपका लागि सरकारलाई पत्र पठाएको थियो।
आजबाट लागू हुने गरी पाँच दिन म्याद थपिएको समितिका अध्यक्ष अच्युतप्रसाद भण्डारीले बताए। ‘अब बाँकी काम सकेर समयमै प्रतिवेदन बुझाउँछौँ,’ अध्यक्ष भण्डारीले भने।
समितिले गत साता नै पूर्वगृहमन्त्री गुरुङको बयान लिएको थियो। उनी विवादमा परेका विषयका प्रमाण पनि समितिले विभिन्न कार्यालयबाट संकलन गरिसकेको छ। समितिले थप प्रमाण माग गर्दै पुनः पत्र पठाएको थियो। तर ती प्रमाण भने सबै संकलन भइसकेका छैनन्।
गृहमन्त्री हुँदा विवादमा परेका गुरुङमाथि छानबिन गर्न गत वैशाख २८ गते सरकारले उच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य छन्।
समितिलाई गुरुङको सम्पत्ति विवाद, हिरासतमा रहेका व्यवसायी दीपक भट्ट संलग्न कम्पनीको शेयर, हदबन्दीभन्दा बढि जग्गा र विवादित जग्गाका विषयमा छानबिन गर्न कार्यादेश दिइएको छ।
गत चैत १३ गते गृहमन्त्री भएका गुरुङ सम्पत्ति विवरण सार्वजनिक भएसँगै विवादमा आएका थिए। विवाद चर्किँदै गएपछि उनले गत वैशाख ९ गते गृहमन्त्रीबाट राजीनामा दिएका थिए।