एसियन गेम्स छनोटःनेपालद्वारा चीन २२१ रनले पराजित

 संवाददाता    २०८३, १७ जेष्ठ आईतवार ११:०१     33 जनाले पढ़िसके



Spread the love

एसियाली खेलकुद छनोटअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले चीनविरुद्ध सानदार जित हासिल गरेको गरेको छ।

आज (आइतबार) बिहान सिंगापुरको सिंगापुर नेसनल क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले चीनविरुद्ध २ सय २१ रनको फराकिलो जित दर्ता गरेको हो।

नेपालले दिएको ३ सय १४ रनको विशाल लक्ष्य पछ्याएको चीन ४ बलअगावै ९२ रनमा समेटियो।

चीनलाई सस्तैमा रोक्न नेपालका लागि कुशल मल्लले ३ विकेट लिए। उनले १.२ ओभरमा १ मेडन राख्दै ३ विकेट लिएका हुन्।

सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट लिए। नन्दन यादवको नाममा १ विकेट रह्यो।

सेनजियान झेङले बनाएको ३१ रन नै चीनका लागि सर्वाधिक रह्यो। डु जिनहाओले १७ र कप्तान टियान सेनक्वुनले १२ रन बनाए।

त्यसअघि चीनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा ३ सय १३ रनको योगफल तयार पारेको हो।

टी-२० आई इतिहासमा नेपालले दिएको यो दोस्रो ठुलो विशाल लक्ष्य हो। नेपालले यसअघि २०२३ मा हाङझाओमा भएको एसियाली खेलकुदमा मंगोलियाविरुद्ध निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा ३ सय १४ रन बनाएको थियो।

दोस्रो विकेटका लागि कुशल भुर्तेल र कुशल मल्लले १ सय ७५ रनको साझेदारी गरे। योसँगै भुर्तेल र मल्लले सन् २०१९ मा सिंगापुर टी-२० त्रिकोणात्मक सिरिजमा पारस खड्का र आरिफ शेखले दोस्रो विकेटका लागि गरेको साझेदारीको कीर्तिमान तोडेका छन्।

सिंगापुरमै पारस र आरिफले सिंगापुरविरुद्ध दोस्रो विकेटका लागि १ सय ४५ रनको अविजित साझेदारी गरेका थिए।

समग्रमा यो नेपालका लागि कुनै पनि विकेटका लागि भएको दोस्रो ठुलो साझेदारी हो। यसअघि २०२३ को हाङझाउमा भएको एसियाली खेलकुदमा रोहित पौडेल र कुशल मल्लले मंगोलियाविरुद्ध तेस्रो विकेटका लागि १ सय ९३ रनको साझेदारी गरेका थिए।

विस्फोटक ब्याटिङ गरेका ओपनर कुशल भुर्तेल १ सय २९ रन बनाउँदै पेभेलियन फर्के। ४३ बलमा ५ चौका र १६ छक्का सहयोगमा १ सय २९ रन बनाएका कुशल डेङ जिंकीको बलमा क्याच आउट हुन पुगे। कुशलले ३५ बलमा ४ चौका र १२ छक्का सहयोगमा शतक पूरा गरेका थिए।

नेपालका लागि टी-२० आईमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको शीर्ष स्थानमा भुर्तेल उक्लेका छन्। भुर्तेलले ७७ खेलमा २ शतक सहयोगमा ९९ छक्का प्रहार गरेका छन्। यसअघि दीपेन्द्रसिंह ऐरीले टी-२० आईमा ८९ छक्का प्रहार गरेका थिए।

रोहित पौडेल १९ बलमा ५ चौका र ६ छक्का सहयोगमा ६९ रनमा अविजित रहे। कुशल मल्लले ४७ बलमा ८ चौका र ५ छक्का प्रहार सहयोगमा ९५ रनमा अविजित रहे।