कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राईले हिजो प्रदेशसभामा आफूले जनाएको प्रतिक्रिया स्वाभाविक भएको जिकिर गरेका छन् ।
सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै राईले प्रतिपक्षलाई पेलेकाले प्रतिवाद अनिवार्य र स्वाभाविक भएको प्रष्टीकरण दिए । हिजो सभामुखले नीति तथा कार्यक्रममाथि बोल्न समय नछुट्याएपछि राई सीटबाट उठेर दौडँदै रोष्ट्रममा पुगी माइक थुतेका थिए । सोक्रममा मर्यादा पालकलाई हम्मेहम्मे परेको थियो ।
उक्त भिडिओ राख्दै राईले संसदको नियम र नियमावलीका आधारमा कोशी प्रदेशसभा नचलेको आरोप लगाए ।
उनले भने, ‘नियम र नियमावलीबाट होइन, शक्ति प्रयोग गरेर सभा चलाउन खोजेपछि त्यसको प्रतिवादमा उत्रिन बाध्य भएको हो । जसलाई जे लागे पनि लागोस् अझै त्यस्तै गरिए यस्तै गरिनेछ त्यसमा ढुक्क भए हुन्छ ।’
सभामुखले पूर्वमुख्यमन्त्री र प्रमुख प्रतिपक्षी दलको नेतालाई समेत बोल्न समय सीमा तोकेको भन्दै उनले असन्तुष्टि पोखेका छन् । प्रतिनिधिसभामा र प्रदेशमा पनि विगतमा पूर्वप्रधानमन्त्री र पूर्वमुख्यमन्त्री र प्रतिपक्षी दलका नेतालाई बोल्न समय सीमा नलगाउने प्रचलन रहेको राईको भनाइ छ ।
राईले थप लेखेका छन्, ‘गत बजेट अधिवेशनमा पनि म (पूर्वमुख्यमन्त्री) लाई समय सीमा लगाउनुपर्छ भनेर पटक-पटक किचलो झिकियो र अन्तिममा सबै दल नेतासहित बैठक गरेर समय सीमा नतोक्ने लिखित सहमति भो, तर फेरि यस पटक पूर्वमुख्यमन्त्रीलाई मात्र होइन प्रमुख प्रतिपक्षी दल नेता इन्द्र आङ्वोलाई समेत समय अभावको कारण देखाएर भरसक बोल्नै नदिने बोल्ने भए ७ मिनेटको समय सीमा तोक्नपर्छ भनेर किचलो झिकियो ।’
कोशी प्रदेश सभामा प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव हाल्न नदिई ध्वनि मतका साथ पारित भएको भन्दै प्रतिपक्षी दलले अवरोध गर्दै आएका छन् ।