नेपाल इन्जिनियरिङ कलेजमाथि जग्गा खाली गर्न प्रशासनको पत्र

 संवाददाता    २०८३, १३ जेष्ठ बुधबार १६:२७     26 जनाले पढ़िसके



Spread the love

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल)ले भक्तपुरको दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेजलाई जग्गा खाली गर्न पत्राचार गरेको छ।

प्रतिष्ठानका सहायक डीन प्रा.डा. विकास विक्रम सिंह अधिकारीले पठाएको पत्रमा इन्जिनियर कलेजलाई ६ महिनाभित्र जग्गा खाली गर्न भनिएको छ। सरकारको निर्णय अनुसार प्रतिष्ठान आफैले भोगचलन गर्ने भएकाले जग्गा खाली गर्न लगाएको जनाइएको छ।

‘सरकारी जग्गा संरक्षण गर्नका लागि उक्त जग्गामा यस प्रतिष्ठान आफैले भौतिक संरचना निर्माण गर्नुपर्ने भएकाले पत्र प्राप्त भएको मितिले ६ महिनाभित्र दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज, भवनको जग्गा खाली गरिदिनहुन अनुरोध छ,’ पत्रमा भनिएको छ।

चागुनारायण नगरपालिका वडा नं. १ र ४ मा पर्ने प्रतिष्ठानको जग्गामा नेपाल इन्जिनियरिङ कलेज सञ्चालन भइरहेको छ। यसमा अब प्रतिष्ठानले नै भौतिक संरचना निर्माण गर्ने जनाएको छ।

यसअघि २०८१ सालमा पनि प्रतिष्ठानले जग्गा खाली गर्न पत्राचार गरेको थियो। तर, अहिलेसम्म नेपाल इन्जनियरिङ कलेजले खाली गरेको थिएन।

अहिले वालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै सबै सरकारी जग्गा सम्बन्धित सरकारी निकायलाई आफै चलनभोग गर्न पत्राचार गरेको छ। सरकारले जुन संघसंस्था वा सरकारी निकायलाई उपलब्ध गराएको हो, उसैले उपभोग गर्नुपर्ने सरकारका निर्णय छ।

त्यसैका आधारमा स्वास्थ्य मन्त्रालयले मातहतका निकायलाई पत्र पठाएर आफ्नो जग्गा संरक्षण गर्न भनेको छ। स्वास्थ्य मन्त्रालयको निर्णयका आधारमा प्रतिष्ठानले ६ महिनाको समय दिएर जग्गा खाली गर्न पत्राचार गरेको छ।

प्रतिष्ठानले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, जिल्ला प्रशासन कार्यालय भक्तपुर, विस्तारित अस्पताल दुवाकोट र दुवाकोट प्रहरी पोस्टलाई बोद्धार्थ पत्र पठाएको छ।