रोमाञ्चक खेलमा चीनलाई पराजित गर्दै नेपालको ऐतिहासिक सफलता

 संवाददाता    २०८३, १३ जेष्ठ बुधबार १५:२५     104 जनाले पढ़िसके



Spread the love

महिला एसियन गेम्स क्वालिफायर अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ।

भर्खरै सम्पन्न खेलमा नेपालले चीनलाई १९ रनले हराएको हो। १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रनमात्रै बनाउन सक्यो।

उसका लागि कप्तान झु मिंगीले ३०, वाङ हिइङले २१, वि हैटिङले १८ तथा लि जियापिङले १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। चीनले अतिरिक्त १७ रन जोड्यो।

बलिङतर्फ नेपालकी रिया शर्माले दुई तथा मनिषा उपाध्याय, कविता कुँवर र पूजा महतोले एक–एक विकेट लिए।

त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित बायमास क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १२५ रन जोड्यो।

उपकप्तान पूजा महतोले अर्धशतकीय इनिङ्स खेलिन्। ५७ बलमा ६ चौकाको मद्दतमा पुजाले ६३ रनको योगदान दिइन्।

यस्तै, रुवि पोद्धारले २२ तथा सोनी पाख्रिनले १८ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ मा रिकले दुई तथा वाङ हिइङ र ली जियापिङले एक–एक विकेट लिए।

विभिन्न छ राष्ट्र सहभागी प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह बी मा रहेको छ। नेपालको समूहमा चीन र इन्डोनेसिया छन्।

त्यसैगरी, समूह ए मा आयोजक मलेसिया, हङकङ र थाइल्यान्ड छन्।

प्रतियोगिताको शीर्ष तीन स्थानमा रहने टोली यसैवर्ष जापानमा हुने २०औँ एसियाली खेलकुद प्रतियोगितामा छनोट हुनेछ।